प्रतिनिधि सभामा आफू पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो हुने राप्रपाको दाबी

प्रतिनिधि सभामा आफू पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो हुने राप्रपाको दाबी

-अमृत बास्कुने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हिमाली जिल्ला म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टी पहिलो हुने दाबी गरेको छ । राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व आवास तथा भौतिक योजना सहायक मन्त्री जगतप्रसाद गौचनले उक्त दाबी गरेका हुन् ।

राप्रपा म्याग्दीको जिल्ला कार्यसमिति बैठकपछि बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् पूर्व सहायकमन्त्री गौचनले राप्रपा म्याग्दी जिल्लामा पहिलो शक्ति हुने दाबी पटक पटक गरेका हुन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका गौचनले भने, ‘म्याग्दीमा पहिलो राप्रपा, दोस्रोमा एमाले र तेस्रो शक्तिका रुपमा यो पटक नेपाली काँग्रेस रहने छ ।’

आफ्नो पार्टीको खास प्रतिस्पर्धी अहिले म्याग्दीमा नदेखिएको उनको ठहर छ । तर सांगठनिक हिसाबले नेकपा एमाले बलियो रहेकाले म्याग्दी जिल्लामा एमाले राप्रपापछि दोस्रो पार्टी बन्ने उनको भनाइ छ । उनले अगाडि भने, ‘काँग्रेससँग प्रतिस्पर्धा नै छैन, त्यसैले उ तेस्रो स्थानमा आउँछ ।’

मुलकको आवश्यकता संवैधानिक राजतन्त्र भएकोले संवैधानिक राजतन्त्रसहितको मुलुक बनाएर दिगो विकास र स्थायित्वका लागि राप्रपाको जीतको विकल्प नरहेको गौचनले उल्लेख गरे । विगतमा राप्रपाको नेतृत्वमा म्याग्दीमा अधिकांश विद्यालय, झोलुङ्गे पुल, गोरेटो बाटो, खानेपानी र जनताको आवश्यकताका पूर्वाधार विकास भएकोले अब पनि देश विकासका लागि राप्रपालाई जिताउनुको विकल्प नरहेको उनको भनाइ छ ।

देशमा गणतन्त्र आए पनि नयाँ कलकारखाना नबनेको, राजाकै पालामा स्थापना भएका उद्योग कलकारखानाहरुसमेत ध्वस्त बनाइएको आरोप लगाइएको छ । उनले भने, ‘पूराना उद्योगलाई सञ्चालनमा ल्याउँदै नयाँ उद्योग स्थापना गरेर युवाहरुलाई रोजगारीमा लगाउन राप्रपाले जित्नैपर्छ ।’

टिप्पणीहरू