राजनीतिक उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नैपर्छ : विरोध खतिवडा

राजनीतिक उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नैपर्छ : विरोध खतिवडा

नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेका विरोध खतिवडाले एमाले नेतृत्वको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने निश्कर्ष निकालेका छन् । मुलुकमा विगतमा भएका परिवर्तनकारी आन्दोलनमा सँगै होमिएका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुको अर्को गठबन्धनबीच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला आएको बताएका हुन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढिचौरमा हिजो आयोजित वाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा खतिवडाले उक्त धारणा राखेका हुन् । उनले भने, ‘बयलगडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भएको पुष्टि भइसकेको छ ।’

एमालेका नेता कार्यकर्ताहरु हिजोका मण्डलेसँग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति उहाँले व्यङ्ग्य गरेका छन् । नेता खतिवडाले हिजोका राजनीतिक दुश्मनलाई आज चुनावको टिकट दिइएको धारणा राख्नुभयो । उनको भनाइ थियो, ‘देशलाई अग्रगमनमा लैजान वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनैपर्छ ।’

कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ का उम्मेदवार कुमारी मोक्तानले अहिले पार्टीभन्दा पनि गठबन्धनका तर्फबाट आफूहरुको उम्मेदवारी भएकाले इमान्दारीपूर्वक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरेकी छन् ।

नेपाली काँग्रेसका मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तानले गठबन्धनका उम्मेदवारले जितेमा मात्र मुलुकमा विकास हुने र मुुलुकमा प्राप्त उपलब्धिको रक्षा हुने धारणा राखेका थिए ।

वाम लोकतान्त्रिक गठबन्धनद्वारा हिजो हेटौंडा उपमहानगरपालिका १ को निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा उम्मेदवारद्वय खतिवडा र मोक्तानको उपस्थिति थियो ।

टिप्पणीहरू