एमाले उम्मेदवारले ११ वर्षसम्म तलब नदिएको आरोप,गुहार्नासाथ थुनामा (भिडियोसहित)

एमाले उम्मेदवारले ११ वर्षसम्म तलब नदिएको आरोप,गुहार्नासाथ थुनामा (भिडियोसहित)

झापा-२ अन्तर्गत प्रदेश १ का एमाले उम्मेदवार एकराज कार्कीले आफू अध्यक्ष रहेको खानेपानी संस्थामा कार्यरत एकजना कर्मचारीले तलब माग्दा प्रहरी लगाएर थुनाएका छन् ।

कार्की यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद हुन् । जननिर्वाचित सांसदले कुनै उपभोक्ता समितिमा बस्न नपाउने कानुनी व्यवस्था भए पनि खानेपानीलगायत अरु थुप्रै समितिमा रहेका कार्कीले आफ्नै भोटर तेजमणि (कमल) खरेल नाम गरेका प्राविधिक कर्मचारीले तलब माग्दा इलाका प्रहरी कार्यालय बिर्तामोडमा थुनाएको आरोप छ । तेजमणि आफैँले यससम्बन्धी भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि एमाले उम्मेदवार कार्कीको ‘कर्तुत’ बाहिर आएको हो ।

खरेलका अनुसार सो खानेपानी संस्था स्थापना हुँदादेखि नै उनी त्यहाँ थिए । ११ वर्षदेखि काम गरिरहेका उनले अहिलेसम्म तलब पाएका छैनन् । तलब माग्दा कार्कीले आफूलाई एकरात थुनाएको गुनासो गर्दै भने,’मैले स्थापनाकालदेखि नै यहाँ काम गरिरहेको छु तर आजसम्म तलब पाएको छैन । र, पछिल्लोपटक एउटा भेलामा गुनासो राख्दा र तलब माग्दा उल्टै थुनाइयो ।’

बिर्तामोडका डिएसपी रुगम कुँवरलाई भनेर चुनावभरि थुनी राख्न उम्मेदवार कार्कीले प्रहरीको जिम्मा लगाएको उनले बताए । उनको भिडिओ सन्देश बाहिर आएपछि चुनावी माहोलले गर्माएको झापामा तरङ्ग पैदा भएको छ । उनले खानेपानीको बजेट र अरु हिसाबकिताबमा पनि कार्कीले तलमाथि गरेको दावी गरेका छन् ।

टिप्पणीहरू