कलम चिन्हवाला कम्युनिस्ट पार्टीको घोषणापत्र तयार
नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ । भोलि दिउँसो १ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । एकीकृत समाजवादीले आर्थिक-सामाजिक रूपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित भएर घोषणापत्र तयार पारेको छ ।
‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार,आर्थिक- सामाजिक रूपान्तरण समृद्दि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक हुने भएको हो ।
घोषणापत्रमा जनताको अधिकार,आधारभूत स्वास्थ्य शिक्षा र आहारमा विशेष जोड दिइनुका साथै उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि,पशु,वन,उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ । राष्ट्रिय स्वाभिमान,संविधानको रक्षा र स्थिरताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणका साथै सुशासन र पारदर्शिता सहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।
सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने,मीटरव्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

टिप्पणीहरू