सन्दिप लामिछानेविरुद्धको मुद्दा भोलि अदालतमा पेश हुने
उमेर नपुगेकी किशोरी बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेविरुद्धको मुद्दा भोलि जिल्ला अदालत काठमाडौंमा पेश हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा भोलि बिहान अदालतमा पेश गर्न सबै तयारी सकिएको बताइएको छ ।
जिल्ला अदालत काठमाडौंले गत साता थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै उनको मुद्दा तिहारपछि मात्रै दर्ता हुने अवस्थामा पुगेको थियो ।
लामिछानेलाई प्रहरीले चार पटक अदालत पुर्याएर म्याद थपेको छ । पहिलोपटक असोज २४ गते सात दिन,दोस्रोपटक असोज २७ गते पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले पछिल्लो पटक थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिक बलात्कार गरेको आरोप लागेका सन्दिपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो ।
टिप्पणीहरू