प्रचण्डले जित्दा चितवनको विकास बन्द ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा ठेकेदार विक्रम पाण्डेले पछिल्लो पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकास अवरुध्द भएको बताएका छन् । चुनावी अभियानका क्रममा भरतपुुर–२६, सिमरीमा बोल्दै उनले मंसिर ४ गते हुने निर्वाचनमा न्यायप्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गरेका छन् ।
‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो,’उनले भने,‘यसबाट चितवनका आम नागरिकले घाटा मात्रै व्यहोर्नु पर्यो । विकासवादी नेतृत्व छानेपछि आगामी पाँच वर्ष पछुताउनै पर्दैन ।’
निर्वाचन क्षेत्र नम्बर ३ (क) मा आदिवासी जनजातिको छोरालाई प्रदेश सभा सदस्यको रूपमा उम्मेदवार बनाइएकाले दुबैतिरको सरकारमा विकासवादी दल र विकासप्रेमी नेतृत्व चुन्न पाण्डेले आग्रह गरेका छन् । २०७४ को निर्वाचनमा पराजित भए पनि लगातार पाँच वर्ष आफूले निर्वाचन क्षेत्रका मतदाताको पीर,मर्का र समस्या बुुझ्न प्रयास गरेको उनको दावी छ ।
गत निर्वाचनमा पाण्डे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नौ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । अहिले प्रचण्डले गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ ।
टिप्पणीहरू