बिहीबारदेखि चुनावी सभा गर्न पाइने, मञ्चको खर्च मंसिर २० गतेभित्र बुझाउनैपर्ने

बिहीबारदेखि चुनावी सभा गर्न पाइने, मञ्चको खर्च मंसिर २० गतेभित्र बुझाउनैपर्ने

राजनीतिक दल तथा उम्मेदवारले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म मात्र चुनावी आमसभा गर्न पाउने भएका छन् । निर्वाचनको १७ दिन अघिदेखि मात्र प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन गर्ने पाइने व्यवस्था रहेको निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को व्यवस्थाअनुसार चुनावी आमसभा निर्वाचन हुनुभन्दा तीन दिन अघिसम्म गर्न पाइने आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यस्तै, आमसभा, कोणसभा गर्दा मञ्चको तयारीमा गरिएको खर्चको विवरण सम्बन्धित उम्मेदवारले मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नैपर्ने छ ।

‘आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।तर जुनसुकै प्रकारका र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने पनि आयोगले जनाएको छ ।

टिप्पणीहरू