माओवादीले उपल्लो पदमा बसेकाको सम्पत्ति खोज्ने, पार्टीका नेताले सार्वजनिक गर्नैपर्ने

माओवादीले उपल्लो पदमा बसेकाको सम्पत्ति खोज्ने, पार्टीका नेताले सार्वजनिक गर्नैपर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि राज्यको कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताउनुभएको छ ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सम्बन्धमा आज दिउँसो घोषणापत्र सार्वजनिक गर्दै उहाँले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै पार्टीका केन्द्रीय सदस्यहरुको सम्पत्ति सार्वजनिक गरिने पनि प्रचण्डको भनाइ छ ।

‘हाम्रो पार्टीको घोषणापत्रमा बहुदलपछि बनेका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मुख्यसचिवसहित सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेको छ । त्यसका लागि माओवादीले नेतृत्व गर्छ,’ प्रचण्डले भन्नुभयो ।

उहाँले आफ्नो छोटो समयको प्रधानमन्त्रीत्वकालमा देशमा भ्रष्टाचार नभएको पनि उल्लेख गर्नुभयो । आजै चुनावी घोषणापत्र सार्वजनिक गरेको राप्रपाले पनि २०४६ सालयताका नेता तथा कर्मचारीको सम्पत्ति खोजबिन गर्न नागरिक आयोग बनाउने बताएको छ ।

टिप्पणीहरू