एमाले अध्यक्षले अकस्मात झापा पुगेर कार्यकर्तालाई थर्काएपछि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत बिहीबार भाइटीका लगाएपछि भोलिपल्टै झापा जानुभयो । त्यतिबेला पूर्व कार्यक्रम र जानकारी बिना चार दिनको लागि गृह जिल्लाका विभिन्न राजनीतिक र चुनावी कार्यक्रममा सहभागी हुने बताइयो ।
भोलिपल्ट शनिवार निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले कार्यकर्ता भेला डाकेर राष्ट्रिय राजनीतिमा सामान्य तरंग आउनेगरी बोल्नुभयो, ‘यो क्षेत्रका उम्मेदवार लिंगदेनलाई हराउन हुँदैन,एमालेको इज्जतको सवाल छ ।’
अध्यक्ष ओलीको उक्त भनाइले राष्ट्रिय राजनीति विशेषगरी झापाको राजनीतिमा भने नयाँ तरंग ल्याइदिएको बताइन्छ । झापामा पनि मूलतः अध्यक्ष ओलीको निर्वाचन क्षेत्र नम्बर ५ र राप्रपा अध्यक्ष लिंगदेनको निर्वाचन क्षेत्र नम्बर ३ मा उक्त भनाइको अर्थ खोज्न थालिएको छ ।
‘राप्रपा र एमाले अध्यक्ष दुबै जोगीदेखि भैंसी डराउने र भैंसीदेखि जोगी डराउने अवस्थामा पुगेकाले उहाँको मुखारविन्दुबाट उक्त भनाइ आएको प्रष्ट बुझिन्छ । ३ नम्बर निर्वाचन क्षेत्रमा लिङ्ग्देन हार्दा ५ नम्बर क्षेत्रमा आफू पनि सुरक्षित हुन नसक्ने अवस्था देखिँदै गएपछि उहाँले राजेन्द्रको क्षेत्रका एमालेलाई कुनै हालतमा हलोमा भोट हाल्न निर्देशन दिनुभएको हो,’५ नम्बर निर्वाचन क्षेत्रका एक जना एमाले नेताले बताए ।
तिहारको भोलिपल्टै हान्निएर झापा पुग्नु र भोलिपल्टै राप्रपा अध्यक्षले कुनै पनि हालतमा हार्न नहुने धारणा राख्नैपर्ने बाध्यता उहाँलाई आइपरेको कार्यकर्ताहरुको विश्लेषण छ । एक जना स्थानीय सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक भन्छन्,‘बरु एमालेको मतले केपी ओली सुरक्षित होलान्,तर लिंगदेनको अवस्था निकै खस्केको छ । त्यसैले एमालेले भोट नहाल्ने हो भने लिंगदेनको पराजय पक्का छ ।’ आफ्ना कार्यकर्तालाई थर्काउँदै दिइएको उक्त निर्देशनको भित्री आशय ३ नम्बरको असर ५ नम्बरमा नपरोस् भन्ने रहेको उनको ठहर छ । अध्यक्ष ओलीको उक्त दिनको सम्बोधन भाषण नभएर ‘राजनीतिक थर्काइ’ रहेको टिप्पणी गरिएको छ ।
अर्कोतर्फ राप्रपा अध्यक्ष लिंगदेनको निर्वाचन क्षेत्रका एमालेभित्र विद्रोह भएकाले पनि ओली एकाएक झापा पुग्नुभएको बताइन्छ । सो क्षेत्रका जिम्मेवार नेताहरुले नै ‘पहिलेको चुनावमा पनि आफूहरुले मन अमिलो बनाउँदै हलोमा भोट हालेकै हो,’ भन्दै बताएका छन्, ‘अहिले पनि उनैलाई भोट हाल्न हाम्रो राजनीतिक दर्शन र सिद्धान्तले दिँदैन ।’
झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच वर्षको अवधिमा एमाले निकै कमजोर भएकोमा त्यहाँका पुराना एमालेहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले नै दोहोर्याएर पुनः राप्रपालाई भोट नहाल्ने ‘क्याम्पेन’ चलाएको थाहा पाएपछि अध्यक्ष ओली शुक्रबार एकाएक झापा पुग्नुभएको थियो ।
गिरीलाई राजेन्द्रका भाइ रविन्द्रले हराएका हुन् । ‘आफूहरुले सँधै राप्रपालाई संसदमा भोट हाल्नुपर्ने तर गाउँपालिकामा तिनले एमालेका जिम्मेवार नेताहरुलाई हराउने ?’ भन्दै गिरीलगायतले एमाले नेतृत्वको निर्णय अवज्ञा गरेका छन् ।
सो क्षेत्रका डम्बर गिरी एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनले अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष जितेका थिए । गत बैशाखको स्थानीय तह निर्वाचनमा उनै गिरी एमालेबाट अध्यक्षमा उठे । तर पराजय व्यहोर्न परेपछि राजनीतिक जोड घटाउ शुरु भएको हो ।
गिरीलाई राजेन्द्रका भाइ रविन्द्रले हराएका हुन् । ‘आफूहरुले सँधै राप्रपालाई संसदमा भोट हाल्नुपर्ने तर गाउँपालिकामा तिनले एमालेका जिम्मेवार नेताहरुलाई हराउने ?’ भन्दै गिरीलगायतले एमाले नेतृत्वको निर्णय अवज्ञा गरेका छन् । उनीहरुको एउटै निचोड छ, ‘हामीले सँधै राजेन्द्रलाई सांसद र भाइलाई पालिका अध्यक्ष बनाइदिनुपर्ने ?’
पहिले वडाध्यक्ष र गाउँपालिका अध्यक्षमा सूर्य चिन्ह लिएर उम्मेदवार भएका गिरीले अहिले बागी उम्मेदवारको रुपमा सूर्यमुखी चिन्ह रोजेका छन् । स्थानीयले ‘सूर्य र सूर्यमुखी’ एउटै भएको प्रचार गरेपछि अध्यक्षद्वय लिंगदेन र ओली तनावमा देखिनु स्वाभाविक हो । यसो हुँदा लिंगदेनलाई घाटा र सोही क्षेत्रबाट उठेका सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका कृष्णप्रसाद सिटौलालाई राजनीतिक नाफा हुने निश्चित छ ।
राजनीतिक जोड घटाउमा लागेको एमाले झापाको पछिल्लो निश्कर्षअनुसार अध्यक्ष ओलीको क्षेत्रमा पनि आधाजसो राप्रपा कार्यकर्ता तथा मतदाताले भोट नहाल्ने अवस्था बन्दै गएको देखिएको छ । तिहार अघिदेखि नै दमक क्षेत्रका राप्रपाले सूर्यमा मतदान नगर्ने खुल्लमखुल्ला बताइसकेका छन् ।
३ नम्बर क्षेत्रका राजेन्द्रलाई एमालेले भोट नहाल्ने भनेपछि आफूहरुले पनि ओलीलाई मतदान नगर्ने अडान राखेको राप्रपा कार्यकर्ताको भनाइ हो । यस्तो अवस्थाका कारण स्वयम् अध्यक्ष ओलीको अवस्था पनि निर्वाचनमा ढुक्क देखिएन ।
स्थानीयले ‘सूर्य र सूर्यमुखी’ एउटै भएको प्रचार गरेपछि अध्यक्षद्वय लिंगदेन र ओली तनावमा देखिनु स्वाभाविक हो ।
लगातार चार दिन आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुनुले त्यहाँको पछिल्लो अवस्था ‘क्रिटिकल’ भएको दुवै दलका जिल्लास्तरीय नेताले स्वीकारेका छन् । विगतको शक्ति सन्तुलन खिईंदै गएकाले एमाले अध्यक्षले प्रयास गर्नुभएको अर्थ लगाइएको छ ।
यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टी झापामा निकै कमजोर देखिन्छ । एमाले र काँग्रेस बाहेक अन्य दलको पनि खासै उपस्थिति देखिँदैन । यस्तो अवस्थामा काँग्रेस नेता सिटौलाको पक्षमा राम्रो वातावरण बन्दै गएको काँग्रेसीहरुको बुझाइ छ ।
निर्वाचन क्षेत्र नम्बर ३ का एमाले नेता तथा कार्यकर्ताले राजेन्द्रमाथि तीन वटा आरोप लगाएका छन् । साढे तीन दशकअघि शहीद राम थापाको हत्यामा उनको संलग्नता भएको विषय अहिले एमालेजनले तीब्र ढंगले उठाएका छन् । २०४६ को आन्दोलनमा झापामा राम थापाको हत्या भएको थियो । उक्त हत्यामा राप्रपा अध्यक्षको प्रत्यक्ष संलग्नता रहेको उनीहरुको आरोप छ ।
त्यसैगरी २०६३ बैशाख ६ गते चन्द्रगढीमा ठूलो आन्दोलन भएको थियो । त्यस दिन प्रहरीको गोली लागेर दुई जनाको ज्यान गयो । त्यो समयमा राजाको प्रत्यक्ष शासनकालका जिल्ला सभापति राजेन्द्र लिंगदेन नै थिए । प्रदर्शनकारीमाथि गोली चलाउन आदेश सिडिओले दिए पनि अप्रत्यक्ष रुपमा राजेन्द्रको हात भएको आरोप एमाले र काँग्रेसका स्थानीय कार्यकर्ता बताउँछन् ।
चन्द्रगढीको उक्त गोली काण्डमा राजन गिरी र सुरज विश्वास मारिएका हुन् । अहिले चुनावी सरगर्मी बढ्दै जाँदा ती दुवै काण्डलाई बाहिर ल्याइएको छ । २०६३ को जनआन्दोलन र २०४६ को आन्दोलन दबाउन खोज्नेमा स्वयम् लिंगदेनको हात रहेको आवाज चर्किन थालेपछि झापामा राप्रपा र एमाले दुबै दलका अध्यक्षले फुकीफुकी गतिविधि गर्नुपर्ने अवस्था आएको हो ।
टिप्पणीहरू