सिंहदरवारभित्रै लिफ्टमा विदेशी पाहुना अड्किए, उद्धारको निम्ति सुरक्षाकर्मीद्वारा लिफ्ट तोडियो
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्टमा दुई जना विदेशी पाहुना लामो समयसम्म अड्किएका छन् । हिजो दिउँसो साढे २ बजेदेखि पौने चार बजेसम्म अरु चार जना नेपाली पनि सोही लिफ्टमा अड्किएका कारण केहीबेर मन्त्रालयमा हल्लिखल्ली भएको थियो ।
लिफ्टमा झण्डै डेढ घण्टा अड्किनेमा दुई जना स्विडिस नागरिक र चार जना नेपाली भएको मन्त्रालय स्रोतले बताएको छ । विभिन्न उपाय लगाउँदा पनि निकाल्न नसकेपछि अन्तमा सेना र प्रहरीको संयुक्त टोलीले लिफ्ट फुटाएर उद्दार गर्नुपरेको थियो ।
सुरक्षाकर्मी टोलीले भुईं तल्ला र पहिलो तल्लामा लिफ्टको ढोका फुटाएपछि उनीहरुलाई सकुशल निकाल्न सकियो । ती विदेशी पाहुना सरकारी कार्यक्रममा सहभागी हुन आएको बखत मन्त्रालयका सहसचिव डा.हरि लम्सालसँग छलफल गर्न जाने क्रममा भुईं तल्लाबाट पहिलो तल्ला नपुग्दै बीचमा फसेका हुन् ।
“एक जना विदेशी एक सय १५ केजी र एक जना नेपाली ९५ केजी तौलको भएकाले बाहिर निकाल्न सुरक्षाकर्मीलाई निकै सकस परेको त्यहाँका कर्मचारीले बताएका छन् ।”
डेढ घण्टा लिफ्टमा अड्किँदा विदेशीको तुलनामा नेपाली बढी डराएको स्रोतको दाबी छ । आधा घण्टासम्म फ्यान र बत्ती बले पनि एक घण्टासम्म फ्यान बन्द भएको र बत्ती निभेको कारण उनीहरुलाई श्वास फेर्न गाह्रो भएको खबर भित्रबाट बाहिर दिइएको थियो । लिफ्टमा अड्केका एकजनाले जनआस्थासँग भने,‘अन्धकारसँगै फ्यान पनि नचलेपछि आत्तिनु स्वाभाविक हो । तर, तलको तल्लामै अड्किएकाले डर कम लाग्यो । बाहिरबाट सुरक्षाकर्मीले फोड्ने क्रममा ठोकेको आवाज र भित्रको अँध्यारोपनले सबैलाई डरलाग्दो बनायो ।’
साढे २ बजेको निम्ति तय भएको कार्यक्रममा सहभागी हुन उनीहरु बेलैमा मन्त्रालय पुगेका थिए । तर,लिफ्टबाट उद्धार भएपछि केहीबेर आराम गरेर ती पाहुना बैठकमा सहभागी भएको बताइन्छ । ‘पछि पानी खायौं,केही बेर आराम गर्यौं । स्वास्थ्यमा समस्या नदेखिएपछि बैठकमा सहभागी भयौं,’ सहभागी एक जना नेपालीले भने ।
लिफ्ट के कारणले अड्कियो भन्नेबारे मन्त्रालयले प्राविधिक छानबिन गराउने जानकारी दिएको छ । यसले सरकारी निकायमा राखिएका लिफ्टको सुरक्षा,प्राविधिकको सहज पहुँच,उद्धारको योजनाबारे नीतिगत व्यवस्थापन गर्नुपर्ने अवस्थालाई उजागर गरिदिएको छ ।
“बाहिरबाट सुरक्षाकर्मीले फोड्ने क्रममा ठोकेको आवाज र भित्रको अँध्यारोपनले सबैलाई डरलाग्दो बनायो ।’
हिजो शिक्षा मन्त्रालयको लिफ्टमा अड्किएका चार जना नेपालीमा सुनिलमान सिंह, शिवकुमार अग्रवाल, शंकर उपाध्याय र निलु महर्जन हुन् । त्यसैगरी तीन जना स्विडिस नागरिक नोरा हल्स्ट्रोम, एण्ड्रेस जेइथेन र लुकास एपेलभिस्टमध्ये दुई जना अड्किएका थिए । त्यतिबेला एक जना बिदेशी लिफ्टमा नभएको बताइएको छ ।
उद्धार क्रममा एक जना विदेशी एक सय १५ केजी र एक जना नेपाली ९५ केजी तौलको भएकाले बाहिर निकाल्न सुरक्षाकर्मीलाई निकै सकस परेको त्यहाँका कर्मचारीले बताएका छन् ।
टिप्पणीहरू