परराष्ट्रका सुवेदी दाजुभाइ फेरि मुध्दा हाल्ने सुरमा

परराष्ट्रका सुवेदी दाजुभाइ फेरि मुध्दा हाल्ने सुरमा

परराष्ट्र मन्त्रालयमा उपसचिव बढुवाको तयारी शुरु भएको छ । रिक्त ७ सिटमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा हुन लागेको बताइन्छ । तर तोकिएको सीट संख्या र सोभन्दा पछाडि रहेका उम्मेदवारले जसरी पनि आफूहरू बढुवा हुनुपर्ने भन्दै आपत्ति जनाउन थालेपछि मन्त्रालयका सहसचिवहरु दङ्ग परेका छन् ।

विवादास्पद छविका दुर्गाबहादुुर सुवेदी यतिखेर जापानको राजधानी टोकियोमा छन् । उनी फर्स्ट लेडीको आशिर्वादमा लण्डनबाट शिष्टाचार महापाल हुँदै जापानको लागि नेपाली राजदूत बनेका हुन् । अहिले उनैका एउटा भाइ जसरी पनि बढुवा हुनुपर्ने माग गर्दै परिआए अदालतसम्म गुहार्ने तयारी गर्दै छन् ।

दुर्गाबहादुर सुवेदीका दुई भाइमध्ये एउटा चक्र र अर्को कृष्ण हुन् । कृष्ण अर्थात कृसु मन्त्री डा. नारायण खड्काको पिए छन् । दाजु गत साउनसम्म मन्त्रालयमा शिष्टाचार महापाल छँदा भाइहरुलाई जसरी पनि बढुवा गराएर जापान जाने भन्दै उपसचिवको दरबन्दी तीन दर्जन थप्ने योजनामा थिए । तर परिस्थितिले साथ नदिएपछि उनी त्यत्तिकै जापान उडे ।

परराष्ट्र सेवाको उपसचिवमा कार्य सम्पादनको आधारमा हुने बढुवामा चक्र सुवेदीले आफू छुटे अरुलाई पनि हुन नदिने भन्दै हिँडेको उनैका ब्याचीहरुले बताएका छन् । लोक सेवा आयोगले गर्ने नियमित बढुवाको निम्ति यसअघि आवश्यकताअनुसार माग फारम भरेर पठाइएको थियो । सोहिअनुसार जति रिक्त दरबन्दी थियो,त्यतिले फारम भरे ।

सात वटा दरबन्दी भएको ठाउँमा चक्र सुवेदी आठौं नम्बरमा छन् । मन्त्रीको पिए कृसु सुवेदी भने धेरै पछाडि छन् । कृसु नायबसुब्बाबाट परराष्ट्र सेवामा छिरेका हुन् । चक्र यसअघि आन्तरिक प्रतियोगितामा अनुत्तिर्ण भएको बताइन्छ । अहिले कार्यसम्पादनको आधारमा आफू पनि बढुवा हुनुपर्ने माग उनले मन्त्रालयदेखि लोकसेवासम्म पुर्याएको स्रोतको दाबी छ ।

यस पटक सातौं नम्बरसम्मका उम्मेदवार फाइल बढुवा हुने पक्का देखिन्छ । तर आठौं नम्बरकाले पनि बढुवा हुन पाउनुपर्यो भन्दै सर्वोच्चमा उजुरी हाल्ने तयारी गरेपछि परराष्ट्र सेवाका अरु कर्मचारी आगो भएका छन् । अहिलेको बढुवामा २०६७ ब्याचका सबै उपसचिव हुने पक्का छ । चक्र त्यसपछिको लटका हुन् ।

तोकिएको सिट संख्याभन्दा बढी हुनै नसक्ने बढुवामा यस पटक एकदेखि सात नम्बरसम्म रहेका शाखा अधिकृतमा पहिलो नम्बरमा हरिहरकान्त पौडेल,त्यसपछि रञ्जिता दाहाल,ऋषि आचार्य, सावित्रा वली,सिर्जना अधिकारी, रमेशचन्द्र चर्मकार र विजय राउत छन् ।

टिप्पणीहरू