सबै कर्मचारीको साझा स्वर: आफ्नै जहाज रोक्ने प्राधिकरण नेतृत्व प्रलोभनमा फस्यो
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) माथि सरकारी संस्था डुबाउने र विदेशी कम्पनीलाई पोस्ने काम गरेको आरोप लागेको छ । हवाई उडान क्षेत्रको नियामक निकायको गैरजिम्मेवारपूर्ण कदमले सरकारी संस्थान डुबाउन खोजिएको भन्दै नेपाल वायुसेवा निगमको संयुक्त ट्रेड युनियन संघर्ष समितिले क्यानमाथि उक्त दोषारोपण गरेको छ ।
अस्ति आइतवार काठमाडौं–दिल्ली–काठमाडौं उडानको निम्ति बोर्डिङ पास लिएर बसेका यात्रुलाई नेपाल वायुसेवा निगमको उडान नम्बर (आरए–२१७–२१८) अन्तिम समयमा उड्न अनुमति नदिएर उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
प्राधिकरणले उक्त उडान अचानक रद्ध गरिदिएको, प्यासेन्जर चेक ईन भइसकेको समयमा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले काउन्टर बन्द गर्न ठाडो निर्देशन दिई गुण्डागर्दी शैलीमा काउण्टर बन्द गर्न लगाउँदै धम्काएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘रद्द भएको सेड्युल फ्लाइटका यात्रुलाई गन्तव्यमा पुर्याउनको निम्ति चार्टर उडान गर्न खोज्दा प्राधिकरणले अनुमतिसमेत नदिएको,’ कर्मचारीहरुले बताएका छन् । केही यात्रुलाई निगमले तत्काल टिकट खरिद गरी अन्य वायुसेवाको उडानबाट गन्तव्यमा पठाएको,बाँकी यात्रुलाई होटल व्यवस्थापन गरी अन्य दिनको टिकट मिलाइदिँदा आर्थिक क्षतिसँगै निगमको बढ्दै गरेको साख र छवि धुमिल भएको उनीहरुको भनाइ छ ।
क्यानको निर्देशनपछि उत्पन्न परिस्थितिका कारण निगमले करोडौं क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै कर्मचारी संगठनहरुले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ निजी क्षेत्रलाई दिने प्राधिकरणको अर्को विवादास्पद भनाइप्रति पनि विरोध जनाइएको छ ।
नेपाल वायुसेवा निगम ऐन २०१९ अन्तर्गत प्रदान हुँदै आएको उक्त सेवा प्राधिकरणका महानिर्देशक प्रदीप भट्टराईले निजी क्षेत्रलाई दिने भनेपछि विवाद चर्किएको छ ।
‘प्राधिकरणको महानिर्देशकले राष्ट्रिय स्तरका विभिन्न सञ्चारमाध्यममा निगमले गर्दै आएको ग्राउण्ड ह्यान्डलिङ क्षेत्रको विकल्प खोज्नुपर्ने भनी निजी क्षेत्रका वायुसेवासँगको साँठगाँठलाई अभिव्यक्त गरेका छन्’, विज्ञप्तिमार्फत कर्मचारीले आरोप लगाएका छन् । उनीहरुले क्यानको नेतृत्व आर्थिक प्रलोभनमा परेकोसमेत दावी गरेका छन् ।
टिप्पणीहरू