महोत्तरीमा माधव नेपालको पार्टीले मित्रवत प्रतिस्पर्धा गर्ने
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एकीकृत समाजवादीले मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ । सत्ता गठबन्धनको तर्फबाट उक्त क्षेत्रमा लोसपाका पीताम्बर महतोलाई साझा उम्मेदवार बनाइएको छ । तर एकीकृत समाजवादीले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ ।
पार्टी अध्यक्ष माधव नेपालको निर्देशनमा उम्मेदवार रहेका सुरेश राउतले गठबन्धनका अर्का उम्मेदवारसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको बताएका हुन् ।
उक्त निर्णयपछि गठबन्धन भित्रैबाट प्रदेशसभा (क) मा दुई जना प्रतिस्पर्धी बन्ने भएका छन् । दुई पार्टीका फरक उम्मेदवारको मनोनयन दर्ता भएपछि गठबन्धनले केही दिनअघि लोसपाका उम्मेदवारलाई वैधता दिने निर्णय गरेको थियो ।
चुनावी प्रचारप्रसार निक्कै अघि बढेको र मतदातामा अन्यौल सिर्जना नहोस् भन्ने उद्देश्यले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उम्मेदवार राउतले जानकारी दिएका छन् । सो क्षेत्रमा प्रतिनिधि सभाका साझा उम्मेदवार गिरिराजमणि पोखरेललाई नै भोट मागिएको र प्रदेशमा भने आफ्नो निम्ति प्रचार गरिएको उनको भनाइ छ ।
राउतको मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयले साझा उम्मेदवार महतोको अघिल्तिर चुनौती थपिएको छ ।
टिप्पणीहरू