सरकार ‘नो हर्न’भन्ने,गाडीवालाहरु हर्न बजाइरहने

सरकार ‘नो हर्न’भन्ने,गाडीवालाहरु हर्न बजाइरहने

सरकारले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन निषेध गरेको धेरै भइसकेको छ । उपत्यकामा ध्वनि प्रदुषण नियन्त्रणका लागि २०७४ वैशाख १ गतेबाट ‘नो हर्न’ अभियान लागु गरिएको हो ।

तर जथाभावी हर्न बजाउनेमा कुनै कमी नआएपछि गत साउन २२ गते देखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ अभियान अघि बढाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ लेखिएको स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

तर, अनुगमन फितलो हुँदा त्यसको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । सँधै ट्राफिक प्रहरीको निगरानी रहने प्रमुख सडकमासमेत ‘नो हर्न’ प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको देखिँदैन । नयाँ बानेश्वर, कोटेश्वर, जडीबुटी, रत्नपार्कलगायत अधिकांश भीडभाड हुने स्थानमा चर्को स्वरमा हर्न बजाउने गरिएको प्रायः सुनिन्छ ।

“कात्तिक १ देखि हिजोसम्म एक हजार २६२ जनालाई कारबाही गरिएको छ । तिहारको अवधिमा भने कारबाही गरिएकाको संख्या कम छ । सबैभन्दा बढी कात्तिक २ गते कारबाहीमा परेका हुन् ।”

सवारी चालकले जहाँ मन लाग्यो त्यहीँ हर्न बजाउने, यात्रु बोलाउन, ओभरटेक गर्ने, आफूभन्दा अगाडि गुडेका गाडीलाई साइड लगाउनसमेत चर्को आवाज दिने गरिएको छ ।  सवारी साधन प्रयोगकर्ताहरुले आफ्ना साथी बोलाउनका लागिसमेत हर्नकै प्रयोग गरेको पाइन्छ । काठमाडौंमा ध्वनि प्रदुषण बढेको भन्दै त्यतिबेला ‘नो हर्न’ को व्यवस्था गरिएको हो ।

तर, उक्त अभियान प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा यसको नतिजा सन्तोषजनक देखिएको छैन । यसबाट राजधानी उपत्यकालाई शान्त शहर बनाउने लक्ष्यमा जटिलता उत्पन्न हुने प्रष्टसँग देखिन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (१) को ‘ग’ मा सवारी साधन घुमाउन वा ध्वनी संकेत दिन निषेध गरिएको ठाँउमा सवारी साधन घुमाएमा वा ध्वनी संकेत दिएमा पहिलो पटक पाँच सय जरिवाना, दोस्रो पटक एक हजार र तेस्रो पटक वा सोभन्दा बढी पटक गर्नेलाई १५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान छ ।

यता,मोटरसाइकल चालकहरुले पनि ठूलो आवाज निकालेर मोटरसाइकल गुडाइरहेको पाइन्छ । ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूला आवाजमा मोटरसाइकल गुडाउने,लापरवाही ढंगले चलाउने कार्य पछिल्लो केही समय ह्वात्तै बढेको छ ।

तर, ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता अवदेश विष्ट क्षेत्रीले कडाइका साथ अनुगमन गरिरहेको दाबी गरेका छन् । अनावश्यक हर्न बजाएको कसूरमा दैनिक दुई सय बढी चालकलाई कारबाही गर्ने गरेको उनी बताउँछन् ।

‘धेरै भीडमा कसले हर्न बजायो, थाहा हुँदैन । त्यसैले कारबाही गर्न सकिदैन । हामीले ट्राफिक प्रहरी मात्र नभई सिभिलमा समेत जनशक्ति खटाएर कारबाही गरिरहेका छौं,’ उनले भने । ट्राफिकले कारबाहीस्वरुप पाँच सय रुपैयाँ जरिवाना गर्ने र सम्झाएर छाड्ने गरेको उनले जानकारी दिए ।

१५ दिनमा १२ सय बढी कारबाही

ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार कात्तिक १ देखि हिजोसम्म एक हजार २६२ जनालाई कारबाही गरिएको छ । तिहारको अवधिमा भने कारबाही गरिएकाको संख्या कम छ । सबैभन्दा बढी कात्तिक २ गते कारबाहीमा परेका हुन् । सबैभन्दा कम कात्तिक १० गते रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

सह–प्रवक्ता क्षेत्रीका अनुसार आवश्यकता परेको अवस्थामा हर्न बजाउन पाइन्छ । सवारी साधनले मोड भएको ठाउँमा हर्न बजाउँदा कारबाही नगरिने उनको भनाइ छ ।

त्यस्तै, दुर्घटनाको सम्भावना भएमा पनि सवारी चालकले हर्न बजाउन पाउँछन् । एम्बुलेन्स, शववाहन, दमकललगायत आकस्मिक सेवाका सवारी साधनमा यो नियम लागू हुँदैन । विद्यालय, अस्पतालजस्ता संवेदनशील क्षेत्रमा ‘नो हर्न’ भनेर होर्डिङ बोर्ड राखिए पनि सवारी चालकहरुले अवज्ञा गर्ने गरेका छन् ।

२० वर्ष पुराना सवारीलाई कारबाही

सरकारले सार्वजनिक सवारी साधनको आयु २० वर्ष तोकेको छ । बढ्दो दुर्घटना र प्रदूषणलाई मध्यनजर गर्दै २०७१ भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले २० वर्षे गाडी विस्थापन गर्ने निर्णय गरेको थियो ।

यो व्यवस्था राजपत्रमा समेत प्रकाशित भइसकेको छ । तर सडकमा त्यस्ता सवारी साधन निर्वाध गुडिरहेको पाइन्छ । सरकारको निर्णय कुल्चेर थोत्रा सवारी साधन चलाउने यातायात व्यवसायीलाई कारबाहीसमेत नगरिनुलाई सो क्षेत्रका विज्ञहरुले अचम्म मानेका छन् । यता, महाशाखाले भने सडकमा गुडेका त्यस्ता सवारी साधनलाई कारबाही गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू