प्रधानमन्त्रीले आजबाट,एमाले अध्यक्षले भोलिदेखि थाल्ने

प्रधानमन्त्रीले आजबाट,एमाले अध्यक्षले भोलिदेखि थाल्ने

नेकपा एमालेले चुनावी सभा पश्चिम नेपालको विकट जिल्लाबाट शुरु गर्ने भएको छ । यसनिम्ति एमालेले दार्चुलाको खलंगामा भोलि दिउँसो चुनावी सभा आयोजना गर्दै छ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली भोलि नै दार्चुला जाने कार्यक्रम बनाइएको छ ।

उहाँले दार्चुलापछि दिउँसो बैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्ने एमालेले जनाएको छ । अध्यक्ष ओलीले चुनावी सभामा हेलिकप्टर प्रयोग गर्न निर्वाचन आयोगबाट अनुमति लिनुभएको छ । सुदूरपश्चिमपछि उहाँ पर्सि कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गरेर लुम्बिनी प्रदेश झर्ने कार्यतालिका तय भएको छ ।

उहाँ भोलिदेखि कात्तिक २७ गतेसम्म विभिन्न जिल्लाका चुनावी सभामा सहभागी हुने एमालेले जानकारी दिएको छ । एमाले केन्द्रीय प्रचार विभागका अनुसार उहाँले नौ दिनमा कम्तिमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । ती सबै कार्यक्रममा उपस्थित हुन हेलिकप्टर बुक गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुन हिजै काठमाडौंबाट डडेल्धुरा पुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरमा सात सदस्यीय टोलीसहित त्यता जानुभएको हो । आजदेखि डडेल्धुराका विभिन्न पालिकामा राखिएका कार्यक्रमलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू