विष्णु पौडेलले भन्नुभयो, ‘हामी लालपूर्जा बाँड्छौँ’
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताउनुभएको छ ।
एमाले नेतृत्वको अघिल्लो सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्याए पनि अदालतले रोकेको उहाँको आरोप छ । तयसैले निर्वाचनपछि उच्च प्राथमिकताका साथ काम गर्ने पौडेलले बताउनुभयो । एमाले बुटवल-६ को शाखा कमिटी भेलालाई आज सम्बोधन गर्दै पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दाबीसमेत गर्नुभयो ।
‘लालपूर्जा सर्वाधिक चासोको विषय हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो सरकारको पालामा उच्च प्राथमिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए । सुकुम्बासीका विरोधीहरूले अदालतमा गएर यो काम रोकी पाउँ भनेर मुद्दा हाले । अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो । त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपूर्जा बाँड्न पाइँदैन, नयाँ कानून बनाएर मात्र काम सुरू गर्न भनेर फैसला गर्दा यो रोकिएका हो ।’
रुपन्देही-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यहीअनुसार काम अगाडि बढाउने पनि उल्लेख गर्नुभयो । भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ । रुपन्देही विकासका दृष्टिले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको उहाँले बताउनुभयो ।
टिप्पणीहरू