भोट हाल्ने दिन एकादशी परेपछि मतदान केन्द्र अन्तै

भोट हाल्ने दिन एकादशी परेपछि मतदान केन्द्र अन्तै

निर्वाचन आयोगले चार वटा मतदान केन्द्र अस्थायी रुपमा हेरफेर गरेको छ । जिल्ला निर्वाचन कार्यालयको मागबमोजिम मङ्सिर ४ को चुनावका लागि ती मतदान केन्द्रहरु हेरफेर गर्न आयोगले सहमति दिएको हो ।

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सार्न तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएकाले त्यसैअनुसार गर्न सहमति दिइएको आयोगले बताएको छ ।

काठमाडौँ क्षेत्र नम्बर १०, ५, ७ र डोल्पाको एक-एक वटा मतदान केन्द्र विशेष कारणवश सार्नुपरेको निर्वाचन आयोगको निर्णयमा उल्लेख छ । काठमाडौँ-१० को दक्षिणकाली नगरपालिका-६ अन्तर्गत कोतघर मतदानस्थलको ‘क’ र ‘ख’ दुवै केन्द्र ह्याप्पी होम मन्टेश्वरी किन्डरगार्डेन विद्यालय परिसरमा सारिएको छ । मतदानकै दिन परेको बाह्र वर्षे हरिशंकर जात्रा कोतघरमा मनाइने भएकाले मतदान केन्द्र त्यहाँबाट सार्नुपरेको हो ।

त्यस्तै, काठमाडौँ-५ को बूढानिलकण्ठ-३ अन्तर्गत नारायणस्थान सत्ताल मतदानस्थलका दुवै केन्द्रलाई बूढानिलकण्ठ मावि भवनमा सारिएको छ। मतदानका दिन एकादशीको मेला लाग्ने र त्यसले भीडभाड हुने भएकाले यो निर्णय लिनुपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ७ को महानगरपालिका-१८ अन्तर्गत पर्ने चामुण्डा इङ्ग्लिस स्कूल भुरुङ्खेल चौर मतदान केन्द्रलाई स्वर्णिम शिक्षा सदन सारिएको छ । चामुण्डा स्कूल अन्तै सरेर त्यहाँ स्वर्णिम संचालनमा आएकाले मतदान केन्द्रको नाम पनि परिवर्तन गरिएको हो ।

यता, डोल्पाको काइके गापा-३ स्थित सगरमाथा आ. वि. ताराकोट मतदान केन्द्र तान्सागुम्बा आधारभूत विद्यालय, गुम्बातारामा सरेको छ। पुरानो मतदान केन्द्र रहेको सगरमाथा विद्यालयको संरचना बाढी पहिरोले बगाएकाले यो निर्णय लिनुपरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३४(३) मा आयोगले अस्थायी रूपमा मतदान केन्द्र सार्न सक्ने व्यवस्था छ ।

टिप्पणीहरू