अरु पार्टीलाई धन्यवाद दिँदै रवि लामिछानेले घण्टीमा भोट मागे
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख राजनीतिक दलहरुको विगतको भूमिका र योगदानका लागि धन्यवाद दिएको छ । सो पार्टीले आज सार्वजनिक गरेको चुनावी वाचा पत्रमा नेपाली कांग्रेस,एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले वर्तमान राजनीतिक उपलब्धि प्राप्तिका लागि योगदान गरेका पार्टी भएकाले धन्यवाद दिनुपर्ने उल्लेख छ ।
तर, यी पार्टीहरु नातावाद र कृपावादमा लागेकाले लोकतन्त्रको सही प्रयोग हुन नसकेको भन्दै स्वतन्त्र पार्टीले कडा आलोचना गरेको छ । पार्टी सभापति तथा चितवन-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवि लामिछानेले सार्वजनिक गरेको वाचा पत्रमा राप्रपा र मधेसवादी दलहरुको पनि आलोचना गरिएको छ । मधेसवादीहरु सत्ताको लागि मरिमेट्ने अवसरवादी हुँदा राष्ट्रिय राजनीतिमा स्थापित हुन नसकेको जनाइएको छ । त्यस्तै, राप्रपामा पनि सम्झौतापरस्त अवसरवादी चरित्र रहेको उल्लेख छ ।
स्वतन्त्र पार्टीले संवैधानिक परिषद् खारेज गर्ने वाचा पनि गरेको छ । सो पार्टीले वाचापत्र नाम दिएको घोषणापत्रमा भनिएको छ, ‘संवैधानिक परिषद् खारेज । राष्ट्रियसभाको बहुमतले सिफारिस गरेको व्यक्तिहरुबाट प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायमा नियुक्ति गर्ने ।’
टिप्पणीहरू