चिनियाँ शहर र सीमाना बिस्तारै खुल्ने, चुनावलगत्तै नेपालका ठूला परियोजना थालिने
छिमेकी मित्रराष्ट्र चीनले कोरोना महामारीको त्रास अझै बाँकी रहेकाले निकै सुझबुझपूर्ण ढंगले आन्तरिक आवतजावत र गतिविधिलाई सहज बनाउँदै लैजान थालेको छ । चीनले नेपालसँगको सम्बन्धलाई ध्यानमा राखेर नजिकका केही शहरमा आवतजावत बिस्तारै खुकुलो पार्दै छ ।
कोरोना महामारीको सन्त्रास बाँकी रहेकाले केही ठूला शहरमा पूर्ण हटाइए पनि आंशिक लकडाउन कायम रहेको बताइन्छ । झण्डै तीन वर्षदेखि अवरुद्ध नेपालमा रहेका चिनियाँ सहयोगका परियोजनाको डिपीआरलगायत कार्य आगामी डिसेम्बर वा जनवरीदेखि शुरु गर्ने जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको बुझिएको छ ।
‘नेपालसँगका केही नाकालाई अहिले सुचारु गर्नेबारे गृहकार्य भएको छ,’ चिनियाँ स्रोतलाई उल्लेख गर्दै परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन वर्षअघि चिनियाँ सहयोगमा बनाउन लागिएको बाहिरी चक्रपथलगायत ठूला परियोजनामा सहभागी सयौं विज्ञहरु कोरोना महामारीसङ्गै एकाएक स्वदेश फर्केका थिए । अब उनीहरु पनि नेपाल फर्केर सिगात्से-केरुङ्ग-काठमाण्डौ रेलमार्गको डिपिआर निर्माणलगायत अवरुद्ध ती काम थाल्ने जानकारी परराष्ट्र मन्त्रालयलाई हालै दिइएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासका डेपुटी चिफ मिसन वाङ सिनले हत हप्ता नेपाली अधिकारीहरुसँगको भेटघाट र कुराकानीमा उक्त विषयमा जानकारी गराएको स्रोतको दाबी छ ।
टिप्पणीहरू