महाराजगञ्जका डीनलाई अखिल क्रान्तिकारीको पाँच दिने अल्टिमेटम

महाराजगञ्जका डीनलाई अखिल क्रान्तिकारीको पाँच दिने अल्टिमेटम

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिनलाई भदौ ३१ गते भएको सहमति कार्यान्वयन गर्न पाँच दिनको म्याद दिएको छ । डिनले आफूहरुसँग गरिएको सहमति कार्यान्वयनमा कुनै पहल नगरेको भन्दै उक्त अल्टिमेटम तोकिएको बताइएको छ । क्रान्तिकारीका काठमाडौं अध्यक्ष एटम विद्रोहीले लिखित पत्रमार्फत् यसबारे जानकारी गराएका छन् ।

गत भदौ २९ गते त्रिवि चिकित्सा शास्त्रका एमबिबिएस र बिडीएस प्रथम वर्षका परीक्षार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने माग राख्दै डिन कार्यालयमा गरिएको आन्दोलनपछि ताल्चा लगाएका थिए । डिनको कार्यालयले भोलिपल्टै सार्वजनिक सूचना सार्वजनिक गरेर निकालेर विद्यार्थाीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।

सोही सूचनाअनुसार विद्यार्थाीहरुको माग तत्काल सम्बोधन गर्न डिन, सहायक डिन र प्रशासन प्रमुखसहितको टोलीले वार्ता गरेका थिए । तर डेड महिना बितिसक्दा पनि आफूहरुसँग गरिएको सहमति कार्यान्वयनमा कुनै पहल नगरेको, विद्यार्थीप्रति डिन र अधिकारीहरु जिम्मेवार नरहेको अखिल क्रान्तिकारीको आरोप छ । अध्यक्ष विद्रोहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’हामीसँग गरिएको संवेदनशील सहमति कार्यान्वयनमा डिनको कार्यालय उदासिन एको अनेरास्ववियुलाई कदापी स्वीकार्य छैन । हामीसँग गरिएको भदौ ३१ गतेको उक्त सहमतिलाई तत्काल सबैले अनुभूति गर्न सक्ने गरी र पीडित विद्यार्थीहरुको मुहारमा खुशी देख्न सक्ने गरी प्रक्रियामा अगाडि बढाउने वातावरण निर्माण गर्न अनेरास्ववियु काठमाडौं जिल्ला जोडदार माग गर्दछ ।’

पाँच दिन भित्रमा सहमति प्रक्रिया अघि नबढे पुनः तालाबन्दीलगायतका गम्भीर र शसक्त कार्यक्रम गर्ने क्रान्तिकारीको चेतावनी छ । भदौ ३१ गते भएको दुई बुँदे सहमतिपछि डिनको कार्यालयमा लगाइएको ताल्चा खोलिएको थियो ।

टिप्पणीहरू