चुनावको मुखमा सेनापतिसहित सुरक्षा प्रमुखको टोली मधेस पस्यो
प्रधान सेनपाति प्रभुराम शर्माले आज महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टर तथा बाराको जीतपुरस्थित नम्बर २८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।
सो क्रममा उहाँले पृतना हेडक्वार्टरको तैनाथीको वर्तमान अवस्था,जिम्मेवारी इलाका, प्रदेशहरुसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजना एवम बाहिनी अड्डाको वस्तुस्थितिबारे जानकारी लिएर निर्देशन दिनुभएको बताइन्छ । निरीक्षणकै क्रममा उहाँले सेनाका सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो ।
आजै, प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल इलाकामा स्थापना गरेको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण गर्नुभएको छ ।
उहाँसँगै रक्षासचिव किरणराज शर्मा, गृहसचिव विनोदप्रकाश सिंह,नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा पनि निरीक्षणमा जानुभएको छ । उहाँहरुले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रियासमेत गर्नुभएको छ ।

टिप्पणीहरू