जसपा र एमालेमा पहिरो, माओवादीतिर कुरा गहिरो
खोटाङबाट जनता समाजवादी पार्टी र नेकपा एमालेका ४४ जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । तिनमा जसपाका ३८ जना र एमालेका छ जना छन् ।
समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य, १ नम्बर प्रदेश समिति अध्यक्ष तथा जसपा खोटाङका प्रचार विभाग प्रमुख रविन खम्बूको नेतृत्वमा विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले माओवादी केन्द्र राजेको बताइन्छ ।
समाजवादी युवा संघ खोटाङका अध्यक्ष एवं जसपाका पार्टी उत्पादन तथा स्वरोजगार विभाग प्रमुख गजेन्द्र राई,जसपाका सचिवालय सदस्य एवं दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पृथ्वीकुमार राई,जिल्ला सचिवालय सदस्य मेघराज राई,प्रवास समिति कतारका उपाध्यक्ष गजेन्द्र खालिङ राई, दिक्तेल रुपाकोट मझुवागढी नगर समिति सह–सचिव सौराज राई, जसपा खोटाङ–काठमाडौं सम्पर्क समितिका प्रज्वल राईलगायत नेता तथा कार्यकर्ता पनि माओवादी केन्द्र प्रवेश गरेको बताइएको छ ।
नेतृत्वले पार्टीलाई प्रतिक्रियावादी कित्तामा पुर्याउँदै प्रतिगमनका मतियार मानिएको एमाले र राप्रपाजस्ता यथास्थितिवादी दलसँग सहकार्य गरेकाले पार्टी परिवर्तन गरेको खम्बूले बताए । ‘पार्टीको नीति,विचार र सिद्धान्तविपरित नेतृत्वले मनोमानी निर्णय गर्दै सही दिशा दिन सकेन,’ उनले भने, ‘सैध्दान्तिक,वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहरसहित हामी पार्टी छाडेर माओवादी केन्द्रमा समाहित भएका हौँ ।’
एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद (जेपी) आचार्य,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ वडा कमिटी अध्यक्ष रविन्द्रकुमार राई,वडा कमिटी सदस्य जीतबहादुर राई,दिपेन्द्र राई,नवराज भुजेल र समर्थक मणिराज राईले पनि माओवादी केन्द्र रोजेका छन् । उनीहरुलाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य,संविधानसभा सदस्यका उम्मेदवार एवम् प्रदेश १ का खानेपानी,सिँचाई तथा ऊर्जामन्त्री रामकुमार राई लगायतले पार्टीमा स्वागत गरेका थिए ।
जनता समाजवादी पार्टी खोटाङका तत्कालीन अध्यक्ष टंक थापासहितका नेता माओवादी केन्द्र प्रवेश गरेको अढाई महिनापछि थप नेता तथा कार्यकर्ताले जसपा छाडेका हुन् । गत साउन ३० गते जसपा परित्यागको घोषणा गरेका ३९ जना नेता तथा कार्यकर्तामध्ये थापासहितका १३ जना भदौ १ गते माओवादी केन्द्र प्रवेश गरेका थिए ।
टिप्पणीहरू