कैलालीमा मतदान, सतप्रतिशत सदर
कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा हुनसक्ने बदर मतको संख्या घटाउन नमूना मतदान गरिएको बताइएको छ ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा शत प्रतिशत मत सदर भएको छ ।
प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमूना मतदानमा ४२ मत खसेको थियो । खसेकोमध्ये सबै मत सदर भएको बताइएको छ ।
बदर मत घटाउने र मतदाता शिक्षा दिने उद्देश्यले नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका सिकाइएको उनको भनाइ छ ।
मतदानमा नगरपालिकाका प्रमुख खडक रावत, उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिने स्वयंसेविकालगायत पालिकाका कर्मचारीहरुको सहभागिता थियो ।
यसअघि कैलाली क्षेत्र नम्बर ४ को गोदावरी नगरपालिकामा पनि नमूना मतदान गरिएको थियो । जिल्लाका अन्य पालिकामा नमूना मतदानको तयारी शुरु भएको छ ।
सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न १२६ जना महिला स्वयंसेविका खटाउन लागिएको छ ।
निर्वाचनसम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिने बताइएको छ । दिइएको जानकारीअनुसार स्थानीय तहका एक जना अधिकृतलाई अनुगमन अधिकृतको रुपमा खटाइने छ ।
टिप्पणीहरू