राष्ट्रियताको टोपी र जनवादको सुरुवाल
– लेखनाथ भण्डारी
‘नेकपा एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ । नभए देशद्रोही आउँछन् । देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्नैपर्छ ।’ आगामी मंसिर ४ गते कसलाई, किन भोट दिने भन्नेबारे आफ्ना कार्यकर्तालाई निर्देशन दिने क्रममा गत हप्ता झापामा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले प्रकट गर्नुभएका महानवाणी हुन् माथिका यी तीन वाक्य । झापामा हलोमा भोट हालेर लिङ्देनलाई नजिताए सिद्धिने राष्ट्रियता मकवानपुरमा सूर्यमा भोट हालेर कमरेड कमल थापालाई नजिताए कसरी जोगिएला ? काठमाण्डुमा रविन्द्र मिश्र, पोखरामा अर्थात् गण्डकीतिर दिपक मनाङ्गेहरू, नेपालगञ्जमा धवलसमशेर राणा र कञ्चनपुरमा पनि हलो–गाई, छाता यस्तै चिह्नहरूले नै राष्ट्रियताको रक्षाका लागि अध्यक्ष ओलीको आशीर्वाद पर्खिरहेको हुनुपर्छ !
‘केपी ओलीको राष्ट्रवादको टोपीलाई रछ्यानमा गाड्ने इण्डियनहरूको उद्देश्य हो, उनीहरूले केपीलाई बद्नाम गरेर भोलि अर्को दलाल खडा गर्छन् । स्पष्ट छ, ओली दिल्लीकै खास बनेर काम गरिरहेका छन् ।’ माथिका यी तीन वाक्य भने नेकपा (माले) का महासचिव कमरेड सिपी मैनालीले यस्तै एक–डेढ वर्षअघि नेपाली राष्ट्रियताको प्रतीक मानिने ढाका टोपी लगाएर एकता टिभी नेपाल युट्युबलाई दिएको अन्तर्वार्तामा प्रकट गरेका महानवाणी हुन् । त्यस अन्तर्वार्तामा मैनालीले ओलीलाई राष्ट्रियताविरोधी अर्थात् भारतीय एजेन्ट भएको आरोप पटक–पटक दोहो¥याएका छन् । ओलीले राष्ट्रियताविरोधी गतिविधि गरेको भनिएका विभिन्न कालखण्डको पछिल्लो चरणमा मैनाली पनि ओलीकै नेतृत्वमा रहेको सरकारको उपप्रधानमन्त्री थिए । अर्थात् मैनाली पनि ओली नेतृत्वको सरकारको साक्षी किनाराका एक वरिष्ठ मन्त्री हुन् ।
राजनीतिमा सिद्धान्त, नीति तथा कार्यक्रमका आधारहरू कमजोर भएपछि नेताहरूले आफूबाहेक सबैलाई देख्ने भनेकै राष्ट्रियताविरोधी, देशी–विदेशी प्रतिक्रियावादी, सामन्त–नोकरशाही, दलाल–पुँजीपति यस्तै रहेछ । कमरेड ओली र कमरेड मैनालीको राजनीतिक विरासतको पृष्ठभूमि एउटै हो । अहिले पनि यी दुवै कमरेडहरूको त्यही राजनीतिक पृष्ठभूमिको उत्तराधिकारको श्रेय कसले धेरै लिने भन्नेमै होडबाजी छ । को कति सच्चा क्रान्तिकारी, को कति जनवादी, को कति माक्र्सवादी आदिको सच्चा अनुयायी हो ? यी दुवै नेताका दाबी रहेका विषय यिनै हुन् । त्यसको मापदण्डचाहिँ माथि दुवै नेताले प्रकट गरेका तीन–तीन वाक्यका महानवाणीमा उल्लेख विशेषणमा आधारित देखिन्छ ।
नेपालको कम्युनिष्ट राजनीतिको सात दशक लामो इतिहासको केन्द्रमा घुमेको विषय यही राष्ट्रियता हो । राष्ट्रियताको त्यही केन्द्रमा जन्मे, हुर्केका कम्युनिष्ट नेताहरू केशरजंग रायमाझी, कमलराज रेग्मी, राधाकृष्ण मैनाली, देवी ओझा, माओवादी जनयुद्ध, सिपी मैनाली, केपी ओलीसम्मको विरासतमा अल्झिएको छ । यो विरासत कमरेड भीम रावल, घनश्याम भुसाल, वैद्य, झाँक्री, विप्लव र कमरेड माधव नेपाल आदि प्रवृत्ति पार गर्दै किनाराकृत हुँदै गएको छ । विकासका (भौतिक तथा मानवीय) विभिन्न चरण र इतिहास निर्माणको सिद्धान्त यही हुनुपर्छ ।
नेपालका कम्युनिष्ट नेता र राजा महेन्द्रको राष्ट्रियताको सिद्धान्त वि.सं. २०१७ सालको जननिर्वाचित सरकारलाई अपदस्थ गरेयताको समयदेखि समानान्तर गति र मार्गमा हिँडेको अनुमान गर्न सकिन्छ । कमरेड मैनाली र कमरेड ओलीका माथि उल्लेख महानवाणीको चर्चा गर्ने क्रममा नेपालको राजनीतिलाई र कम्युनिष्ट नेताहरूको चरित्रलाई अध्ययन गरिरहेका एक जना मित्रले कटाक्ष गर्दै राजा महेन्द्रको सन्दर्भ पनि उल्लेख गरेका हुन् । यो कटाक्षको निश्कर्ष हो– नेपाली राष्ट्रियता गोयबल्स शैलीमा प्रचारित छ । यो प्रचारको एक शताब्दीपछि त्यसले के परिणाम दिन्छ भनेर अहिल्यै कुनै अप्रिय आशंका गर्नु नेपाली जनसाधारणको स्वाभिमानमाथि प्रश्न गरेजस्तो लाग्न सक्छ । तर यतिचाहिँ भन्न सकिन्छ,नेताहरूको आजकै शैलिमा दन्तबझान कायम रहने वा बढ्दै जाने हो भने यो गोयबल्स शैलीको प्रचारको शताब्दीतिर पुग्दा ‘गोठालाको बाघले बाख्रा लग्यो’ भन्ने लोकोक्तिसँग मेल खानसक्छ ।
देशभित्रको निर्वाचनका आन्तरिक प्रक्रियामा राष्ट्रियतालाई दाउमा राखेर प्रचार गर्नु राजनीतिक वा नैतिक चरित्र होइन । यो सामान्यतः निर्वाचन आचारसंहिताको उल्लंघन पनि हो । निर्वाचन आयोगले यस्ता गैरराजनीतिक टिप्पणीहरूलाई गम्भीरतासाथ ‘नोटिस’मा लिन र सम्बन्धित पक्षलाई यस निर्वाचनको मुद्दा ‘राष्ट्रियता’को सौदाबाजी वा राष्ट्रियता हारजितको विषय होइन भनेर सचेत गर्नका साथै सच्याउन लगाउनु पर्छ । तुलनात्मक रूपमा विगतका निर्वाचनहरूमा भन्दा यसपटक आयोगले निर्वाचन आचारसंहिता पालनामा नेताहरूलाई सचेत गराउन प्रयास गरेको छ । यसबाहेक नेताहरूबाट एक–अर्कालाई बद्नाम गर्न, जनतामा भ्रम छर्न र राष्ट्रियताजस्ता संवेदनशील विषयहरूमा सार्वजनिक मञ्चहरूमा के–कस्ता अभिव्यक्तिहरू प्रकट भएका छन् भनेर पनि आयोगले निगरानी गर्न सक्नुपर्छ । नेताहरूले मनोगत ढंगले आ–आफ्ना मनोरोगी तुष्टिहरू सार्वजनिक गर्ने अवसर होइन निर्वाचन ।
आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक पार्टी र तिनका नेताहरूले राष्ट्रियता वा अन्य असम्बन्धित सन्दर्भमा आ–आफ्ना टोपी र सुरुवाल यथास्थानमै राखेर पार्टिका नीति कार्यक्रमसहित जनतामाझ जाने साहस गरेको देखिँदैन । हिलो छ्यापाछ्याप र बद्ख्वाइँका साथै ठुल्ठूला जुलुश आदिको शक्तिप्रदर्शन पनि अबको निर्वाचन प्रचारको उपयुक्त माध्यम होइन । जनताका घरदैलोमा पुगेर आ–आफ्ना नीति कार्यक्रम बुझाउन, जनताका आवश्यकता तथा प्राथमिकतालाई कसरी समेट्न र कार्यान्वयन गर्न सकिन्छ ? राजनीतिक पार्टीको प्रयास यसतर्फ केन्द्रित हुनु आवश्यक छ । जुन विषय निर्वाचनको मुद्दा होइन, जनताको आवश्यकता पनि होइन र प्रतिपक्ष–प्रतिद्वन्द्वीसँग रक्षात्मक हुनु पनि छैन, त्यस विषयको बहस नेताहरूको जनतालाई गुमराहमा राख्ने तथा यथास्थितिमा सत्ता प्राप्त गर्ने मनोरोग मात्र हो । सबै विषयको विज्ञताको भ्रम र बाँकी दुनियाँलाई मूर्ख देख्ने वा मूर्ख बनाउने मनोरोग आजका मतदाताले बुझ्न सके नेताहरूको चरित्र सच्याउन तथा आगामी राजनीतिक प्रतिस्पर्धालाई स्वच्छ, स्वस्थ, पारदर्शी, प्रजातान्त्रिक तथा मित्रवत बनाउन सहयोग हुनेछ ।
इतिहासमा आफ्नो नाम लेखाउन वा अर्काको नाम मेटाउन नेताहरूले यस्ता प्रयास गरिरहेका पनि हुन सक्छन् । यस सन्दर्भमा नेताहरूका लागि अमेरिकामा नेपालका राजदूत श्रीधर खत्रीको एउटा टिप्पणी सुनाउनु सान्दर्भिक हुनसक्छ । महामहिम खत्री गत हप्ता अमेरिकी नेपाली समुदायसँग नेपाली राजनीतिमा सूर्यप्रसाद उपाध्यायको भूमिका विषयक एक कार्यक्रममा भन्दै थिए, ‘इतिहास र पानीको गति वा अवस्था एकै हुन्छ । पानीलाई जतिसुकै हल्लाए पनि अन्ततः उसले आफ्नो सतह आफैं निर्धारण गर्छ । इतिहास पनि यस्तै हो । इतिहासले आफ्नो सतह आफैं निर्माण गर्छ ।’ हाम्रा नेताहरूले पनि आफ्नो इतिहास निर्माण गर्न वा अर्काको इतिहास मेटाउन आफ्नै टाउको हल्लाउन छोडे हुन्छ ।
टिप्पणीहरू