फौजदारी मुद्दा चल्दाचल्दै राजदूतमा फुत्त
मुद्दा विचाराधीन रहेकै अवस्थामा सर्वोच्चबाट कतिपय उम्मेदवारका मनोनयन खारेज भएका छन् । तर, यही देश हो, फौजदारी कसुरमा सर्वोच्चमै मुद्दा चलिरहेकी एकजना विद्वानले भने राजदूतको नियुक्ति लिएर कार्यभार सम्हाल्न थालिसकिन् ।
सर्वोच्च अदालतमा प्रतिलिपी अधिकार उल्लंघनका विषयमा फौजदारी मुद्दा विचाराधीन रहेकै बेला सरकारले उनलाई गत साउन १८ गते दक्षिण कोरियाका लागि आवासीय राजदूत नियुक्त गरेको हो । पेशाले प्राध्यापक उनका विरुद्ध ०७६ माघ १ मा कपीराइटसम्बन्धी मुद्दा सरकारकै तर्फबाट दायर भएको थियो । पटक पटक पेशी चढ्दै उक्त मुद्दालाई विभिन्न बहानामा टारिँदै आएको छ । उनले राजदूतको नियुक्ति बुझ्नुअघि पनि तत्कालिन कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश प्रकाश ढुंगानाको बेञ्चमा मुद्दा पुगेको थियो । तर, ‘हेर्न नभ्याइने’ सूचीमा राखेर टारियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाबीच विवाह हुनुअघि ज्योति र देउवाको राम्रो मित्रता थियो । मित्रताको त्यही गुण तिर्न अहिले फौजदारी मुद्दा हुँदाहुँदै राजदूत नियुक्त गरिएको काँग्रेस वृत्तमा चर्चा छ । जबकि, जिल्ला अदालतले बैंकिङ कसुरमा गरेको फैसला चित्त नबुझेर उच्च अदालतमा गएपछि त्यहाँ विचाराधीन रहेको एक मुद्दाकै बहानामा हालै रुपन्देहीका युवा नेता राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।
अर्कातिर पद्मकन्या क्याम्पसमा संगीततर्फ प्राध्यापक रहेकी ज्योतिले चाहिँ मुद्दा चल्दाचल्दै राष्ट्रपतिबाट पत्र बुझेर चार वर्षका लागि राजदूत हुन पाउने सुविधाको दोहोरो परिभाषा देखिएको कानुनविद्हरु बताउँछन् । ज्योतिको मुद्दामा यही १८ गते उनलाई अर्को पेशी तोकिएको छ, देशको दूतको रुपमा जिम्मेवारी लिएर विदेश गएको समाजको प्रबुद्ध व्यक्तित्वमाथि वर्षौंदेखि यता स्वदेशमा मुद्दा चलिरहेकै छ भन्ने सानो सूचनाले पनि अतिथेय मुलुकको हेराईमा फरक पारिदिन्छ ।
यो भनेको एक किसिमले टाउकोमा तरबार जस्तै हो । नियुक्ति दिनेले त निर्णय गरे सकियो, अदालतले चाहिँ जे जस्तो होला छिटो कारबाही किनारा गरिदिनु उचित हुने परराष्ट्र मामिलाका जानकारहरूको जिकिर छ ।
टिप्पणीहरू