उमेरमा भेदभाव गर्ने आधार के हो महाशय ?
आजकल नेपाली राजनीतिमा नयाँ विषयले प्रवेश पाएको छ, उमेर । त्यसो त केही समयदेखि वैकल्पिक शक्ति बन्ने भनेर विभिन्न कोणबाट भरपुर प्रयास नभएका हैनन् । गत स्थानीय निर्वाचनमा अनपेक्षित रूपबाट केही स्वतन्त्र उम्मेदवारको विजयले गर्दा धेरै युवामा पूरा नहुने रहर जागेको देखियो । बूढा पुराना नेताहरूले केही गर्न सक्दैनन्, अब हामी युवाले नै हस्तक्षेप गर्नुपर्छ भन्दै आफैँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको पनि देखियो ।
आफूले चुनाव जित्नु परकै विषय हुँदाहुँदै पनि केही गरी जितिहाल्दासमेत प्रधानमन्त्री बन्न सकिँदैन भन्ने हेक्का नहुनु उनीहरूको दिवालियापन हो । शेरबहादुर देउवालाई हराएपछि आफैँ प्रधानमन्त्री बन्नेजस्तो गरी डडेल्धुराबाट लड्न पुगेका सागर ढकालले आफैँले भनेअनुसार सम्बन्धित विषयमा दक्ष व्यक्तिलाई मन्त्री बनाउँदा मात्रै विकास सम्भव हुन्छ भन्ने तर्क कसरी सही प्रमाणित गर्न सक्लान् ? मन्त्री बन्न सांसद नै हुनुपर्ने, अन्यथा ६ महिनाभन्दा बढी टिक्न नसकिने संवैधानिक व्यवस्थाअनुसार आफू प्रधानमन्त्री बने पनि देश नबन्ने भएपछि किन चुनाव लड्नुपरेको होला ?
‘अर्का प्रधानमन्त्री’ रवि लामिछानेले प्रचण्डले गोर्खा जाने निर्णय गरेपछि चितवन ३ छाडेर २ बाट किन उम्मेदवारी दिनुपरेको होला ? बरु बोलीको भाउ राख्न गोरखा दुई नै गएको भए अलि बेस हुन्थ्यो कि ! प्रधानमन्त्री बन्ने पार्टीले तोकिएको समयभित्र प्रदेशतिरको कानुनी औपचारिकता पूरा गर्न नसकेपछि कमजोरी ढाक्न त्यताको निर्वाचनमा सहभागी नहुने निर्णय गर्ने मात्रै हैन चुनाव पूर्व संसदीय दलको नेता छान्ने प्रक्रिया थाल्नुले उनलाई संविधानको सामान्य ज्ञानसम्म नभएको प्रष्ट छ । देशभरि जम्मा गरेको मतले अलिकति समानुपातिक सिटमा बार्गेनिङ गर्न सकिए पनि प्रत्यक्षतर्फ एक सिटमा पनि जित्न सकिएन भने त्यो मुख मिठ्याउने काम मात्रै हुनेछ ।
आफू प्रधानमन्त्री बने पनि देश नबन्ने भएपछि किन चुनाव लड्नुपरेकाे हाेला ?
देशमा गर्छौं भनेका र हुनुपर्ने जति काम हुन नसकेकोमा कसैको विमति छैन । सत्तरी वर्षमा यति धेरै राजनीतिक परिवर्तनहरू भएको सम्भवतः नेपालजस्तो विश्वमा अरु धेरै देश छैनन् । युद्ध र आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने वा नगर्ने भन्ने रस्साकस्सी अहिलेसम्म चलिरहेकै छ । शान्ति सम्झौतालाई उचित समयमा तार्किक निश्कर्षमा पु¥याउन नसक्नु नै अहिले यस्तो अवस्था सिर्जना हुनुको प्रमुख कारण हो । यसलाई जसरी भए पनि ढिलासुस्ती गर्ने र त्यसैलाई आधार बनाई प्रतिगमनकारी पाइला चाल्ने थुप्रै प्रयासका बाबजुद अहिले देश दोस्रो आम निर्वाचनको संघारमा छ ।
हाँस्य तथा स्थापित कलाकार दीपकराज गिरीले फेसबुकमा ६० वर्ष उमेर कटेकाहरूलाई भोट नदिने निर्णयसहित यस्तो पोष्ट लेखेको देखियो– ‘सबै फूल गुलाफ हुँदैनन्, सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन, ६० काटेकालाई हाल्दै हाल्दिनँ ।’ समाज परिवर्तनमा अहं भूमिका रहने गिरीजस्तो कलाकारले यस्तो भाव सञ्जालमा व्यक्त गर्दा त्यसको प्रभाव कस्तो रहला ? हेक्का रहनुपर्ने थियो । ६० भन्दा बढी उमेरको उम्मेदवारलाई भोट हाल्यो भने त्यो खेर जाने हो ? त्योभन्दा माथिल्लो उमेरका कसैलाई जिताउनै नहुने हो ? यस्तो जिकिर गर्ने आधार के ? यसबाट समाजमा उमेरबीचको भेदभाव हुन्छ कि हुँदैन ?
ब्राजिलमा भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ७७ वर्षीय लुला दा सिल्भाले दोश्रो पटक विजय प्राप्त गरेका छन् । उनले सन् २००३ देखि १० सम्म पनि शासन गरेका थिए । ८९ वर्षीय पाल बिया ६ नोभेम्बर १९८२ देखि क्यामरूनको राष्ट्रपति छन् । उनी अफ्रिकामा दोस्रो सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपति र अहिले विश्वको सबैभन्दा बृद्ध राष्ट्रप्रमुख हुन् । संसारको सबैभन्दा शक्तिशाली देश मानिने अमेरिकामा डोनाल्ड ट्रम्प झण्डै ७१ वर्षको हुँदा राष्ट्रपति निर्वाचित भएका थिए भने अहिलेका बाइडेन २० दिनपछि ८० वर्ष टेक्दै छन् । भारतका वर्तमान प्रधानमन्त्री मोदी गत महिनादेखि ७२ वर्ष पुगेका छन् भने त्यहाँका चौथो प्रधानमन्त्री मोरारजी देसाई प्रधानमन्त्री निर्वाचित हुँदा ८१ वर्ष उमेरका थिए । बेलायतकी महारानी एलिजाबेथले ७० वर्षमा विश्वका ३२ स्वतन्त्र देशहरूको प्रमुख भई ९६ वर्षको उमेरमा करिब दुई महिनाअगाडि मात्र देह त्याग गरिन् ।
विश्वमा मानिसको औसत आयु बढेसँगै पेन्सन पाउने उमेर पनि बढ्दै गएको छ । सामान्यतः ६० वर्ष पुगेपछि पेन्सन हुन्छ भन्ने मान्यतालाई बेलायतले सन् २०१९ देखि ६६ बनाइसकेको छ । सन् २०२८ बाट भने बढेर त्यो हद ६७ र सन् २०३८ देखि ६८ वर्ष हुनेछ । अहिले नर्वे, इटाली, ग्रिस, आइसल्याण्ड, इजरायल, हल्याण्ड, डेनमार्कलगायत केही देशमा उमेरको हद ६७ वर्ष छ । मानिसले कामबाट छुट्टी लिनु भनेको उसले काम गर्न सक्दैन भन्ने नभई अधिकांश उमेर काममा ब्यस्त भएकाले बाँकी एक चौथाई जीवन भिन्न किसिमले बिताउन पाइयोस् भनेर दिइएको सुविधा हो । अक्षम भएर वा कुनै काम गर्न नसकिने भएपछि मात्र पेन्सन वा बृद्धभत्ता दिइने पनि हैन । म आफैँले धेरै यस्ता मानिस भेटेको छु जसले अहिले गरिरहेको भन्दा गाह्रो काम रिटायर्ड भएपछि गर्छु भनेर उमेर साँचेका छन् ।
मानिसको उमेरसँगै सोच्ने र व्यवहार गर्ने तरिका पनि फरक हुँदै जाने हुन्छ । उमेर केवल दिन गन्तीमा सीमित हुँदैन, उसले प्राप्त गरेको अनुभव मुख्य हुन जान्छ । गल्ती–कमजोरीबाट पनि सिक्दै गइन्छ । त्यसैले त पढेरभन्दा परेर जानेको बढी प्रभावकारी हुन्छ भनिएको होला । घरमुली भनेर उमेरलाई प्राथमिकता दिनुपछाडिको कारण पनि यही हो । परिपक्व मानिसले नेतृत्व वा शक्तिको श्रोत सही ढंगले प्रयोग गर्छ भने त्यसलाई अन्यथा मान्नुहुँदैन ।
युवाहरूले मात्रै ठीक गर्छन् भन्ने भनाइ ठीक हैन । यसको उदाहरण भ्यालेन्टाइन एसेग्राग्बो मेलभिन स्ट्रासरको राजनीतिक इतिहास हेर्दा स्पष्ट हुन्छ । उनी सन् १९९२ मा सिएरा लियोनियनका राष्ट्रपति जोसेफ सैदु मोमोहलाई अपदस्थ गरी विश्वको सबैभन्दा कान्छो राष्ट्रप्रमुख बनेका थिए । त्यतिबेला २५ वर्ष तीन दिनका थिए । संसार तहस नहस पार्ने हिटलर पनि चान्सलर बन्दा ४३ वर्षको उमेर मात्रै पुगेको थियो । त्यसैले मानिस आफैँमा राम्रो र नराम्रोको सम्मिश्रण हो । एउटा उमेर समूहकाले मात्र ठीक र अर्को समूहले बेठीक गर्छ भन्ने भ्रम छर्न हुँदैन । देश त सबै मिलेर बनाउने हो । अहिलेसम्म आन्दोलन र अस्थिरतामा समय बितेको कारण शान्तिप्रक्रिया निश्कर्षमा पु¥याएर स्थायित्व कायम गरी समृद्धिको यात्रामा अगाडि बढ्नु अहिलेको प्रमुख काम हो । यसका लागि एक, दुई जना नेता हराउने अनि सबै ठीक हुन्छ भन्ने कोरा कल्पना गर्नु हुँदैन । प्रतिगमन र अस्थिरताका बाहकलाई भने किनारा लगाउनु अनिवार्य छ ।
टिप्पणीहरू