चुनावकै बीचमा एकीकृत समाजवादीको दण्ड र पुरस्कार
चुनावले देश गर्माइरहेको बेला नेकपा (एकीकृत समाजवादी) ले आफ्ना केही नेता–कार्यकर्तालाई दण्डित र पुरस्कृत गरेको छ ।
मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीका विषयमा पार्टी नीति र निर्देशनविपरित गतिविधिमा संलग्न केही नेता कारवाहीमा परेका छन् भने निर्वाचनअघि एमालेमा फर्किएका केही नेताको ठाउँमा पार्टीले नयाँ जिम्मेवारी तोकेको छ ।
कात्तिक १७ मा जारी अन्तर पार्टी निर्देशन (अपानि) मा उल्लेख भएअनुसार, सत्ता गठबन्धनको भागबण्डामा उक्त पार्टीले कालिकोटको प्रदेशसभा नपाएपछि एमालेबाट उम्मेदवारी दिएका कुर्मराज शाहीसहित झापाका सूर्य खत्री (भोला) र कास्कीका हेम नेपाली पनि पार्टीबाट निष्कासनमा परेका छन् ।
त्यस्तै, बाँकेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारीको आकांक्षा राखेका एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य दलबहादुर सुनार पनि निष्कासनमा परेका छन् । पार्टीबाट टिकट नपाएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका डडेल्धुराका डा.ताराप्रसाद जोशी र कविन्द्र विष्टले उम्मेदवारी निस्कृय नपारेपछि निष्कासनमा परेका छन् । दैलेखका टेकबहादुर खाँणलाई पनि पार्टीले निष्कासन गरेको छ ।
निर्वाचनअघि गुल्मी र कञ्चनपुरका केही नेता एमालेमा फर्किएपछि एकीकृत समाजवादीले ती जिल्लामा रिक्त जिम्मेवारी पूर्ति गरेको छ । पार्टीका तर्फबाट प्रदेश मन्त्रीसमेत रहेका तारा लामासहित सुदूरपश्चिम इञ्चार्ज विक्रम शाही, बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, गुल्मी इञ्चार्ज तथा केन्द्रीय सदस्य गणेश खनाल र अध्यक्ष नरेश भण्डारीहरु एमालेमा फर्किएका थिए ।
१७ गते जारी अपानिअुनसार, पार्टीको केन्द्रीय सदस्यमा कञ्चनपुरबाट वीरबहादुर बुढाथोकी, रुपन्देहीबाट बाबुलाल यादव, खोटाङबाट भीम राई, मनोनित भएका छन् । त्यस्तै, एकीकृत नेकपा नामक पार्टीलाई एकीकृत समाजवादीसँग एकता गराएका आलोक रायमाझी स्थायी कमिटी सदस्य मनोनित भएका छन् ।
जिल्ला इञ्चार्ज रिक्त भएको गुल्मीमा प्रमेश पोखरेल तोकिएका छन् । ४० वर्षभन्दा मुनिका पोखरेल पार्टी केन्द्रीय सदस्यसहित अखिल नेपाल किसान महासंघका महासचिव पनि हुन् । नाताले उनी पूर्वसांसद टंक पोखरेलका छोरा हुन् ।
कञ्चनपुरको सहइञ्चार्जमा वीरबहादुर बुढाथोकी तोकिएका छन् भने वालकृष्ण चापागाईंले पार्टी छोडेपछि रिक्त रहेको रुपन्देही सहइञ्चार्जमा बाबुलाल यादव तोकिएका छन् । त्यस्तै, काठमाडौं सहइञ्चार्जमा सीता ओझा चयन भएकी छन् ।
टिप्पणीहरू