गौर नगरपालिका झन् दुर्गन्धित
-प्रेमचन्द्र झा
रौतहटको सदरमुकाम गौर नगरपालिकाको सरसफाई झन् फितलो हुँदै गएको छ । नगरपालिका कार्यालय अगाडिको सडकमा बनाइएको नालीमा शुरुदेखि फोहोर पानी नबगेका कारण सो क्षेत्र हिउँद लागेपछि थप दुर्गन्धित भएको हो ।
नाली जाम भएको, सरसफाई नगरिएको र फितलो तथा जनप्रतिनिधिमा गैरजिम्मेवारीपना बढेकाले उक्त अवस्था आएको स्थानीयको भनाइ छ । नगरपालिकाले पानी जमेपछि डेंगू रोग सार्ने लामखुट्टेको प्रजनन् हुने जानकारी गराए पनि स्वयम् नगरपालिकाको कार्यालय अगाडिदेखि प्रभात चोकसम्मको करिब पाँच सय मीटर लामो नाली महिनौंदेखि जाम भएकाले त्यहाँ फोहोर पानी जमेको हो ।
डेंगू रोगविरुद्ध औषधि छर्किने, प्रचार गर्नेलगायत सराहनीय काम गरेर जनताको प्रशंसा बटुलेको गौर नगरपालिकाको ध्यान जाम भएको नालीमा नगएकोप्रति स्थानीयले अचम्म र आक्रोश दुबै जनाएका छन् । यसप्रति स्वयम् नगर प्रमुख शम्भु साहको ध्यानाकर्षण नहुनुलाई भने स्थानीयले अचम्म मानेका हुन् ।
हालै सम्पन्न विजया दशमी, दिपावली तथा छठ पर्व पनि त्यही दुर्गन्धित वातावरणमा मनाउन नगरबासी बाध्य भएका थिए । नवनिर्वाचित जनप्रतिनिधि चाडपर्वको रमझममा रहँदा जनताको समस्याप्रति उदासिन भएको स्थानीयको बुझाइ छ ।
खटनपटनमा मात्र सञ्चालन हुने नगरपालिकाको सरसफाई कर्मचारीबाट अहिलेको दुर्गन्ध र फोहोरको समस्या समाधान नहुने स्थानीय बताउँछन् । तरपनि जनप्रतिनिधिबाट तत्काल सरसफाईको कार्य हुने विश्वास र आश नमारेको उनीहरुको भनाइ छ ।
टिप्पणीहरू