विनोद चौधरीको निम्ति आचारसंहिता ‘अचार’मा परिणत,निर्वाचन आयोग हेरेको हेर्यै

विनोद चौधरीको निम्ति आचारसंहिता ‘अचार’मा परिणत,निर्वाचन आयोग हेरेको हेर्यै

विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले गरेका झिनामसिना कार्य र गतिविधिमा औंला ठड्याउँदै आएको निर्वाचन आयोग डलर अर्बपति विनोद चौधरीको सवालमा भने मुकदर्शक भएको आरोप लागेको छ । नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ “भाग्य परीक्षा” दिँदै गरेका उनले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरेको पाइएको छ ।

निर्वाचनमा उठिसकेपछि जुनसुकै उम्मेदवारले मतदातालाई प्रलोभन दिने वा प्रभावित पार्ने केही पनि काम गर्न पाइन्न । तर,उनले आफ्नै स्वामित्वको चौधरी ग्रुपका नाममा मतदाता प्रभावित पार्ने काम गरिरहँदा आयोगले साँधेको मौनता भने रहस्यमय बनेको छ ।

विनोद चौधरीे सिजी नाम जोडिएका सबै कम्पनी र ग्रुपका अध्यक्ष हुन् । यही बेला आएर सिजी अर्थात् चौधरी ग्रुपको नाममा उनी उम्मेदवार रहेको नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा सिजी पोलिटेक्निक खोलिएको छ । उनका जेठा छोरा निर्वाण चौधरीले दुई दिनअघि सामाजिक सञ्जालमार्फत यससम्बन्धी जानकारी गराएका छन् ।

“बाबु उठेको क्षेत्रमा छोराले बाबु अध्यक्ष रहेको कम्पनीको तर्फबाट खोलेको उक्त इन्स्टिच्युटले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको प्रष्ट छ ।”

निर्वाचन क्षेत्रको प्रतापपुर,सूर्यपुरामा सिजी पोलिटेक्निक बिस्तार गरिएकोवारे उनको स्टाटसमा उल्लेख छ । कार्यक्रमको फोटोसहित उनले नवलपुरको सूर्यपुरामा क्षमता विकासको निम्ति इलेक्ट्रिकल तथा मेकानिकल तालिम उपलब्ध गराइने घोषणा गरेका छन् । बाबु उठेको क्षेत्रमा छोराले बाबु अध्यक्ष रहेको कम्पनीको तर्फबाट खोलेको उक्त इन्स्टिच्युटले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको प्रष्ट छ ।

सोसम्बन्धमा जनआस्थाले राखेको जिज्ञासामा एक जना आयुक्तले ‘निजी क्षेत्र’ को कुरो भन्दै चौधरीको वकालत गरेका छन् । तर,उम्मेदवार सबै निजी क्षेत्रका र उनीहरुका प्रलोभन र प्रभावका कार्य सबै निजी क्षेत्रकै हुने भएकाले आयुक्तको भनाइमा कुनै कानुनी तर्क नभएको स्पष्ट हुन्छ ।

चौधरी अध्यक्ष रहेको सिजी ग्रुपमा झण्डै तीन दर्जन कम्पनी आवध्द छन् । तीमध्ये धेरैजसोमा तीन वटा छोरालाई कार्यकारी बनाइएको छ । ती सबै कार्यकारीको रिमोट डलर अर्बपति बाबु विनोदले अध्यक्ष बनेर अँठ्याएका छन् ।

यसैबीच चौधरीले जनता र मतदाताको आँखामा छारो हाल्न धान खेतमा खटिया राखेर युट्युबमा अन्तर्वार्ता दिँदै हिँडेको पनि व्यापक प्रचार गरिएको छ । उनको उक्त फोटोमाथि टिप्पणी गर्दै पत्रकार दिनेश आचार्यले खर्बपतिले करोड तिरेर टिकट लिएपछि गरिबको नेता हुन नौटंकी देखाएको प्रतिक्रिया जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो सिनेमाटोग्राफर, डाइरेक्टर अनि सेट सेलेक्सन र ड्रेस डिजाइन बोकेर भोट मागेको राजनीति गर्न खटिया बोकी खेतको गह्रामा नाटक मञ्चन गर्नुपर्छ है, राजनीतिले मान्छेलाई कसरी भेँडा बनाउँछ हेर्नुस् ।’

टिप्पणीहरू