रवि लामिछानेको घण्ट काम नलाग्ने एमाले उम्मेदवारको ठहर

रवि लामिछानेको घण्ट काम नलाग्ने एमाले उम्मेदवारको ठहर

-अञ्जनकुमार हिमाली

सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत चितवनको प्रहरी हिरासतमा रहँदा प्राप्त सहानुभूतिको आवेगमा आएर पार्टी खोल्दै चितवन-२ मा चुनाव लड्न पुगेका रवि लामिछानेलाई दुई हजारदेखि २५ सय मत ल्याएर देखाउन नेकपा एमालेका नेता तथा प्रतिस्पर्धी कृष्णभक्त पोखरेलले चुनौती दिएका छन् ।

इच्छाकामना गाउँपालिकाको घरदैलो कार्यक्रममा इच्छाकामना –५ मुग्लिनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पोखरेलले ‘बोकाले दाईं हुने भए बहर किन चाहिन्थ्यो ?’ भनेर प्रश्न गरेका छन् । उनले भने, ‘यो कम्युनिष्टको किल्ला हो,कोही टुरिस्टले आएर घण्ट हल्लाउँदैमा एमालेको केही हल्लिन्न ।’

पोखरेलले कसैको बहकाउमा नलाग्न कार्यकर्तासहित आम मतदातालाई आह्वान गरेका छन् । २०६४ मा मुलुकभर माओवादीको त्रासदी भएकाले सो क्षेत्रबाट नारायण दाहालले जितेको उनको दाबी छ । तर २०७० मा माओवादीले उनै दाहाल,काँग्रेसले एकराज रानाभाटलाई मैदानमा उतार्दा उनीहरुलाई फराकिलो मतान्तरले पछार्दै पोखरेल विजयी भएका थिए ।

२०७४ मा काँग्रेसका शेषनाथ अधिकारीले १७ हजार ३१४ मत प्राप्त गर्दा पोखरेल ४४ हजार ६७० मत ल्याएर विजयी बने । सो क्षेत्रमा यस पटक रुख चिन्ह लिएर उमेश श्रेष्ठ,घण्ट चिन्ह लिएर रवि लामिछाने र सूर्य चिन्हबाट उठेका पोखरेलबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भनिएको छ । तर पोखरेलले इच्छाकामनाका उत्साहित मतदातासामु आफ्नो कुनै प्रतिस्पर्धी नै नभएको बताएका छन् ।

गठबन्धनतर्फका काँग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई भन्दा माओवादी अध्यक्ष प्रचण्डलाई हराउन चितवन–३ बाट चुनाव लड्ने बताएका रवि प्रचण्ड गोर्खा गएपछि राप्रपाका विक्रम पाण्डेसँगको सेटिङसँगै २ मा झरेको उनको भनाइ थियोे ।

पाँचदलीय गठबन्धनका बाबजुद कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका एमालेको पकडमा छ । पाँचदलीय गठबन्धनका उमेश श्रेष्ठले हरेश खाएको अवस्थामा दुई चार जना एमाले र काँग्रेसका भाइहरुलाई लिएर घण्ट बजाउँदै हिँडेर चुनाव नजितिने उनको ठोकुवा छ । उता रवि लामिछानेका कार्यकर्ताले सर्वसाधारणको कानमा घण्टी बजाएर हैरान पारेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मौखिक उजुरी परेको छ ।

२०५४ को स्थानीय निर्वाचनमा तत्कालीन दारेचोक गाविसको उपाध्यक्ष भएर सफेद ढंगले कार्य सम्पन्न गरेका अधिवक्ता कृष्णप्रसाद सिलवाल (क) बाट जितिनेमा ढुक्क छन् । (ख) बाट २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर जितेर पनि रेनु दाहालसँग पराजित देवी ज्ञवाली उठेका छन् । महानगरको ७ वडा पनि उनकै पकडमा रहेको एमालेको भनाइ छ ।

हिजै गठबन्धन र घण्टवालाहरुले पनि सोही क्षेत्रमा घरदैलो कार्यक्रम राखेका थिए । गठबन्धनका केही मान्छेले घरदैलो हुँदै गर्दा एमाले प्रवेश गरेको घोषणा गरेका छन् । यसरी प्रवेश गर्नेमा नेकपा समाजवादी जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना इञ्चार्ज रामचन्द्र सिलवाल,माओवादीका उत्तम गुरुङसहित आधा दर्जन माओवादी समर्थक छन् । प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल,काँग्रेस विद्यार्थी नेता अग्रिस पोखरेलको एमाले प्रवेशले गठबन्धनलाई थप झट्का लाग्ने देखिएको छ ।

टिप्पणीहरू