स्याङ्जाको धानखेतमा काँग्रेसले जबर्जस्ती गरेको ३ महिला र एक पुरुषको आरोप
हिजो दिउँसो खेतमा धानको बिटा लगाइरहेका तीन जना महिला र एक जना पुरुषलाई नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले जबर्जस्ती अबिर दलेको आरोप लागेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १३, जिङ्दी,सुहारी कुलबाधी निवासी ती स्थानीयलाई काँग्रेसका नेता तथा कार्यकर्ताले नजिकैको विद्यालयमा पुर्याएर फूलमाला र अबिर दलेको बताइएको छ ।
मञ्जु नेपाली,कमला सार्की,निता सार्की र हर्कबहादुर सार्कीलाई खेतमा काम गरिरहेको अवस्थामा ‘एउटा काम छ,यसो यता आउनुस् त’ भनेर बोलाएको उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले लेखेका छन्, ‘नेपाली काँग्रेसनिकट केही व्यक्तिले दियालो आधारभूत विद्यालय निजक लगी फूलमाला र अबिर लगाई आजबाट तपाईंहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभयो भनिदिए ।’ आफूहरुलाई झुक्काएर पार्टी प्रवेश गराएकोप्रति घोर आपत्ति र असहमति रहेको उनीहरुले उल्लेख गरेका छन् । नेपाली काँग्रेस भन्ने पार्टीमा आफूहरु प्रवेश नगरेको पनि उनीहरुले विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्ति कम्प्युटर प्रिण्ट गरिएको छ । नाम हातले लेखिएको छ । हर्कबाहेक अरु तीन जना महिलाको दस्तखत गरिएको अक्षर उस्तै हस्तलिखित देखिएको काँग्रेसले जनाएको छ ।

टिप्पणीहरू