पार्टीले कारवाही गरे पनि एमाले नेता रामकुमारीको पक्षमा
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई निर्वाचनमा सहयोग गर्ने बताएका छन् । उनले गुल्मी क्षेत्र नम्बर २ मा गठबन्धनबाट साझा उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी नेतृ झाँक्रीलाई विजयी गराउन सघाउने घोषणा गरेका हुन् ।
सो क्षेत्रमा एमालेले सचिव गोकर्ण बिष्टलाई उठाएको छ । विष्टतिर संकेत गर्दै गौतमले आफ्नै पार्टीको प्रधानमन्त्री हटाउन सर्वोच्च जाने व्यक्तिलाई निर्वाचनमा भोट हाल्न नसकिने उल्लेख गरेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले विभाजननिम्ति ठूलो भूमिका खेलेका बिष्टलाई आत्मालोचनाविना पार्टीले टिकट दिएर इमान्दार रुपमा पार्टीको काम गर्नेलाई अपमान गरियो ।’
नेता गौतमले नैतिकता नभएका एमाले उम्मेदवारभन्दा कम्युनिष्ट आन्दोलनबाट खारिएकी एकीकृत समाजवादीकी नेतृ झाँक्रीलाई गुल्मी २ का मतदाताले जिताउन उचित ठानेको बताए ।
आफू एमालेमै रहेको उल्लेख गर्दै पार्टीले कुनै कारवाही गरेमा त्यसको परिणाम भोग्न तयार भएर उक्त निर्णय गरेको उनले बताए ।
टिप्पणीहरू