जितपुरसिमरा उपमहानगरको गेटमा तालाबन्दी, वडाध्यक्ष पक्राउ
जितपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । उपमहानगरपालिकाको वडा नम्बर ७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले ताला लगाएका छन् ।
लामो समयदेखि फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएपछि समस्या समाधान गर्न आफूहरूले दबाबस्वरुप तालाबन्दी गरेको स्थानीयको भनाइ छ । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
ताला लगाउने कार्यमा जनप्रतिनिधिहरूसमेत सहभागी थिए । उनीहरूले मुख्य गरेर नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताएका छन् ।
नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र नम्बर ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सिनाको सहयोगमा विरोधमा उत्रिएका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रकाउ गरेपछि स्थानीयले जितपुर बजारमा चक्काजाम समेत गरेका छन् ।
नगर प्रमुख पौडेलले प्रहरीको आडमा वडाध्यक्षलाई पक्राउ गरेको भन्दै उनीहरुले तत्काल फोहोर व्यवस्थापन गर्न र वडा अध्यक्ष गुप्तालाको रिहाईको माग गरेका हुन् ।
प्रहरीले जितपुरसिमरा उपमहानगरपालिकाको भवनमा सो क्षेत्रको निर्वाचन कार्यालय रहेकाले तालाबन्दी गरेको भन्दै खबर पाएपछि वडाध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ ।
टिप्पणीहरू