चितवनपछि विकास गर्ने गोरखाको पालो- प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि प्रमुख रणनीतिक योजना बनाएको बताउनुभएको छ । गृह जिल्ला चितवनको निर्वाचन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ पुग्नुभएका प्रचण्डले आज गोरखाको विकासका लागि ४५ वटा प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।
उहाँले राजनीतिक, आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरण गोरखाबाट नै गर्न सम्भव भएकाले आफूले यता आएर उम्मेदवारी दिएको दाबी गर्नुभयो । उहाँले पालुङटार एयरपोर्टलाई पुनः सुचारु गरिने र मौलिक स्मार्ट सिटीका रुपमा विकास गर्ने प्रतिबद्धना जनाउनुभएको छ । त्यसैगरी बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन गर्ने वचन दिनुभएको छ ।
गोरखा जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, लिगलिगकोट बूढीकोट, लकाङ्कोट,सिरानचोक गढी,सुलिकोट, ताकुकोट,बारपाक, गोरखा दरबार र मनकामनालाई समेटेर ऐतिहासिक तथा धार्मिक एवम् पर्यटकीय सर्किटको रुपमा विकास गर्ने उहाँको योजना छ ।
आँबुखैरेनी–गोरखा सदरमुकामसम्म जोड्ने सडकको मापदण्डसम्बन्धी समस्यालाई प्राविधिक र वैज्ञानिक ढंगले हल गरिने अध्यक्ष प्रचण्डले वचन दिनुभएको छ । मल, बीऊ,खाद्यान्न उत्पादनमा राज्यका तर्फबाट नुदानको व्यवस्था गर्दै किसानको उत्पादन र बजारिकरणको उचित प्रबन्ध गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
उहाँले ज्येष्ठ नागरिक र असक्तलाई सामुदायिक स्वास्थ्य इकाइमार्फत घरदैलोमै स्वास्थ्यसेवा उपलब्ध गराउने, गोरखामा मिडिया सेन्टर स्थापना गर्ने लिखित आश्वासनसमेत दिनुभएको छ ।
टिप्पणीहरू