समाजवादी प्रेस संगठनका दुई जना पदाधिकारी बर्खास्त

समाजवादी प्रेस संगठनका दुई जना पदाधिकारी बर्खास्त

समाजवादी प्रेस संगठन नेपालले लुम्बिनी प्रदेश इञ्चार्ज तथा उपाध्यक्ष विकास बञ्जाडे र जाजरकोटका केन्द्रीय सदस्य भरत शर्मालाई सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । संगठनको हित प्रतिकूल गतिविधिमा संलग्न रहँदै आएको उल्लेख गर्दै कारबाहीस्वरुप उनीहरुलाई जिम्मेवारीमुक्त गरिएको बताइएको छ ।

संगठनले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा प्रचारप्रसार अघि बढाइने संगठनद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा यो संगठनले पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धनपक्षीय उम्मेदवारको पक्षमा गर्नुपर्ने प्रचारका कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।’

संगठनले नेकपा एकीकृत समाजवादी पार्टीका प्रत्यक्षतर्फका सम्पूर्ण उम्मेदवारका लागि एक–एक जना सञ्चार सहजकर्ता पनि तोकेको छ । विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका गठबन्धन पक्षधर अन्य पत्रकार संगठनबीच आपसी समन्वय गरी साझा ढंगले प्रचारप्रसार गर्ने बताइएको छ ।

कात्तिक ३ गते नागरिक दैनिकमा प्रकाशित ‘कल केपी बा’ शीर्षकको कार्टुनलाई लिएर प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टीकरणले अभिव्यक्ति स्वतन्त्रताको हनन भएको संगठनको ठहर छ । उक्त स्पष्टीकरणप्रति घोर आपत्ति जनाउँदै संगठनले स्पष्टीकरण अविलम्ब फिर्ता लिन माग गरेको छ ।

टिप्पणीहरू