नेताको नयाँ फर्मुला : काममा लगाउने,पैसो नदिने,कुट्यो भन्दै पुलिस गुहार्ने
नेपाली काँग्रेसका उम्मेदवार र उनको चुनाव प्रचार गर्ने संयोजकले आफ्नै पार्टीका कार्यकर्ता तथा नेविसंघका केटाहरुलाई सित्तैंमा काम लगाएको आरोप छ । अघिल्लो पटकको आमनिर्वाचन,गत बैशाखको स्थानीय तह निर्वाचन र यस पटकको निर्वाचनमा दिन रात खटाएर सुको खर्च नदिएपछि केटाहरु रिसले आगो भएका छन् ।
आफूहरुलाई खर्चबर्च दिनुपर्ने माग गर्दै आएका केटाहरुसँग भनाभन भएपछि धनकुटाका एक जना काँग्रेस उम्मेदवारका चुनाव संयोजकले उल्टै नेविसंघका सदस्यहरुले आफूमाथि सांघातिक आक्रमण गरेको आरोप लगाएका हुन् । गत शुक्रवारदेखि उनले प्रहरीमा जाहेरी दिने बताएपछि धनकुटा काँग्रेसभित्र अर्को रडाको मच्चिएको छ ।
धनकुटामा नेपाली काँग्रेसको चुनाव प्रचार प्रसार समिति संयोजक रहेका पदम भट्टराईले पहिले कजाएका केटाहरुलाई यसपालि पनि नमज्जासँग काम लगाएका थिए । नेविसंघका केटाहरुले भने, ‘पहिलेको चुनावमा कजायो,पैसा दिएन । अहिले पनि त्यस्तै पारा । हामीले पारिश्रमिक मागेका हौं,अरु केही हैन ।’
स्थानीय राई,लिम्बु युवाले आफ्नो सोझोपनलाई नेतृत्वले दुुरुपयोग गर्न खोजेको आरोप लगाएका छन् । गत शुक्रवार पारिश्रमिक माग्न जाँदा भट्टराईसँग सामान्य भनाभन भएको उनीहरुको दाबी छ । तर, भट्टराईलगायत काँग्रेसी नेताहरुले आफूलाई कुर्सी उचालेर हानेको बताउँदै आएका छन् । नेताहरुले प्रहरी प्रशासनमा समेत सोही कुरा राखेका छन् ।
भट्टराईले पैसा नदिने उपाय निकाल्नासाथ ‘लौ ममाथि आक्रमण भयो’ भनेर हल्ला गरेको र केटाहरुको भागाभाग भएको थियो । नेपाली काँग्रेसका केही जिल्ला नेताले भने पारिश्रमिक दिनुपर्ने आवाज उठाएका छन् । उनीहरुले प्रहरी प्रशासनसँग पनि सोही आशय व्यक्त गरेको बुझिएको छ ।
पदम भट्टराईको हातमा सामान्य चोट देखिए पनि त्यो कुर्सी प्रहारबाटै भएको भन्न नमिल्ने उनीहरुको भनाइ छ ।
भट्टराईले नेविसंघका सुरेन्द्र राई, मिङ्मा शेर्पामाथि आरोप लगाएका छन् ।
भट्टराई जोरपाटी बजारस्थित काँग्रेस प्रचार सम्पर्क कार्यालयको जिम्मेवारीमा छन् । उता छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा र धनकुटा काँग्रेसका सभापति दिनेश राईले भने आक्रमणमा संलग्न सुरेन्द्र र मिङ्मालाई पक्रन प्रहरीलाई दबाब दिएको बुझिएको छ ।
टिप्पणीहरू