सचिवज्यू, कता गए सुटुक्क ?

सचिवज्यू, कता गए सुटुक्क ?

प्रधानमन्त्रीदेखि प्रत्येक मन्त्रीलाई चुनाव लागेपछि राजनीति त्यसै भद्रगोल छ । यही मौकाको फाइदा उठाउँदै सचिव बढुवामा डरलाग्दो चलखेल हुँदै छ ।कात्तिक ६ गते सिञ्चाई तथा जलस्रोत सचिव सागर राईले अवकाश पाए । मंसिर पहिलो साता शहरी विकास सचिव रमेश सिंह घर जाँदै छन् । ती दुवै मन्त्रालयमा प्राविधिक सचिव हुनुपर्ने व्यवस्था छ ।

अहिले बढुवाको वरियतामा पहिलो नम्बरतिर रामआधार साह, दोस्रोमा विश्वबाबु पुडासैनी र तेस्रोमा केशव शर्मा छन् । तर, प्रमपत्नी डा.आरजुमार्फत केशव बाजी मार्ने तरखरमा छन् । यसअघि चौथो वरियतामा हुँदा पनि बल गरिरहेकै थिए । रामआधार शिक्षा मन्त्रालयमा छन्, विश्वबाबु भने बागमती प्रदेशको उद्योग मन्त्रालय र केशव अख्तियारमा । पहिला सडकमा लामो समय महानिर्देशक रहेका केशव त्यहीँका क्याडर पनि हुन् । उनले बढुवाका लागि हतार गर्नुको कारण हो, जागिर अवधी लामो नहुनु । अहिले बढुवा भए भने पाँचै वर्ष सचिव रहन्छन् ।

उता, सिञ्चाई मन्त्रालयमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव रविन्द्रनाथ श्रेष्ठले जान चाहेका छन् । मन्त्री उमाकान्त चौधरीले नरुचाएपछि खानेपानीबाट लखेटिएकी प्रमिला बज्राचार्यको पनि सिञ्चाईमै जाने इच्छा छ । उनी शिक्षा मन्त्रालयमा विज्ञानतर्फकी सचिव हुन् । पहिला उर्जा सचिव रहिसकेका र त्यही मन्त्रालयअन्तर्गत जल तथा उर्जा आयोगका दिनेशकुमार घिमिरे पनि सिञ्चाई वा मंसिरमा खालि हुने शहरी मन्त्रालय ताकेर बसेका छन् ।

अर्कातिर, प्रदेश १ र कर्णाली प्रदेशमा प्रमुख सचिव खालि छन् । संघीय सचिवले सम्हाल्नुपर्ने उक्त जिम्मेवारीमा कोही पनि जान चाहेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दामोदर रेग्मी र सुमन अर्याल (पहिलाका महालेखा नियन्त्रक) थन्किएर बसेका छन् ।

अर्का सचिवको घुर्की कस्तो भने नचाहेको ठाउँमा सरुवा भएपछि अटेर गर्दै बेपत्ता ! गृहबाट सरुवा भएका टेकनारायण पाण्डेले एक महिनापछि उपराष्ट्रपति कार्यालयका लागि रमाना बुझेका छन् । तर, हाजिर भएका छैनन् । सरुवा भएलगत्तै अष्ट्रेलिया गए । तोकिएको भन्दा बढी समय त्यहीँ बसे । उतैबाट बिदाको चिठी पठाए । तर, मुख्यसचिव शंकरदास बैरागीले स्वीकृत गरेनन् । त्यसपछि फर्किएर रमाना बुझे । अहिले सरकारको सम्पर्कमा छैनन् ।

मुख्य सचिवकहाँ खबर पुगेको छ, ‘किड्नीमा पत्थरी भएकाले दिल्लीमा उपचार भइरहेको छ ।’ जबकि यस्तो गम्भीर स्वास्थ्य समस्या अवगत गराउँदा मामुली कर्मचारीले त उपचार बिदा पाउँछन् भने सचिवले ढाँटी–ढाँटी हराउनुपर्ने अवस्था होइन । उनलाई विदेशतिर हराउनका लागि परेको खर्च गृहअन्तर्गत पञ्जीकरण विभागका महानिर्देशक तीर्थ भट्टराईले व्यहोरेको चर्चा छ । उनी गृह सचिव भएलगत्तै तीर्थलाई अमेरिका पठाएका थिए ।

टिप्पणीहरू