अनि भीम रावललाई निकाल्ने आदेश अलपत्र

अनि भीम रावललाई निकाल्ने आदेश अलपत्र

‘एक–दुई लाख भोटको कुरा छ, अहिले छाडिदिऊँ…!’ केपी ओलीको ‘नियम’ मा मिल्ने कुरा हो, उहाँका बारेमा भन्नुसम्म भनेर फेरि उहाँकै पार्टीमा रहन खोज्नु ? तर, माथिको संवादमा भने एक दुई लाखको लोभ गर्दै त्यही नाममा कसैलाई तत्कालका निम्ति उन्मुक्ति दिनुपर्ने ‘विवशता’ आइलागेको छ ।

एमाले नेता भीम रावलले होलिवाइनदेखि विदेशीसँगको संदिग्ध सम्बन्धबारे ओलीलाई आरोपित गर्दै, फेरि त्यही पार्टीमा रहन्छु भन्दा पनि अहिलेसम्म ‘एमाले’ कै रूपमा ‘सही–सलामत’ छन् । उनले पत्रकार सम्मेलन गरेकै साँझ च्यासल मुख्यालयमा एउटा प्रेस विज्ञप्ति तयार हुँदै थियो । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको व्यहोरासहितको उक्त वक्तव्य जारी गर्नु भन्ने अध्यक्ष ओलीको आदेशबमोजिम । तर, महासचिव शंकर पोखरेलले ‘स्याँ–स्याँ र फ्याँ–फ्याँ’ गर्दै ओलीलाई फोनमा भने, ‘यसलाई अहिले केही नगरौँ ।’ ओलीले ‘किन’ भनी सोधेपछि शंकरको जवाफ थियो, ‘राष्ट्रवादको कुरा गरेको छ, एमाले छोड्दिन पनि भनेको छ । उसका राष्ट्रवादका कुरा सुन्ने पंक्तिले कम्तीमा समानुपातिक भोट हामीलाई हाल्छन् । त्यस्तो भोट झण्डै एक–दुई लाखको हाराहारीमा होला । समानुपातिकको त्यति भोट भनेको प्रतिनिधिसभाका लागि कम्तीमा १ जना र प्रदेशसभाका लागि २–३ जनासम्मका सांसद हुन् । हामीले जानाजान ती चिज किन गुमाउने ? बरु, चुनावपछि कारवाही गरिदिऔँ, टन्टै साफ !’ अनि, ओलीले दिक्क मान्दै भन्नुभयो, ‘लु त लु, त्यसै गर्नुस् !’

यसरी चुनावको मुखमा असन्तुष्ट एमालेहरू त्यसै पनि निस्क्रिय हुने, सामूहिक रूपमा अलग्गिने लहर चलिरहेको बेला कम्तिमा रावलले ‘तथानाम’ भन्दा पनि पार्टीचाहिँ छोड्दिन भन्नुलाई समानुपातिकतिर भोट छ भनेर चित्त बुझाउनुपर्ने स्थितिमा एमाले पुगेछ भन्ने कुरा त यही घटनाले बतायो । यति हुँदा पनि घनश्याम भुसालले झैँ रावलले किन स्वतन्त्र उम्मेदवारी दिएनन् ? जबकि उनका निम्ति पनि माओवादीले आफूसँग रहेको कुनै न कुनै सीट छोडिदिने भनेकै थियो । एमालेमा चर्चा छ, समस्या अछामकै हो । त्यहाँको जिल्ला कमिटीका अधिकांश रावल पक्षधर । त्यहीँ गएर स्वतन्त्र रूपमा उठ्दा ती सबै अप्ठेरोमा पर्ने भए । न रावलको भाग माग्न जान मिल्ने, न त एमालेलाई जिताऔँ नै भन्न सकिने । यसकारण भन्नुसम्म भनेर ती पार्टीमै बसेका हुन् । अहिले अछामका रावलपक्षीय एमालेहरू ताँती कसेर एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवरको घरदैलोमा देखिन थालेका छन् ।

एमालेमा छाएको अर्को चिन्ता छ, घनश्यामका समानुपातिक भोट कता जालान् ? उम्मेदवारी नपाएपछि पार्टी परित्याग गरेको घोषणासहित घनश्याम रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार भए । सत्ता गठबन्धनको समर्थनमा चुनाव चिह्न ‘त्रिभुज’ सहित मैदानमा छन् । मतदाताले उनकै क्षेत्रमा त त्रिभुजमै मतदान गर्ने भए तर उनले माक्र्सवाद पढाएर देशभरि बनाएका कार्यकर्ता, जो सूर्यका मतदाता थिए, तिनले के गर्लान् ? यस्तो चिन्ताले बालकोटलाई पनि ठूलै तनाव छ । उनी चुनावपछि माओवादी केन्द्रमा जाने सम्भावना छ भनिन्छ । कतिपयले त एकीकृत समाजवादीमा जाने गरी कुरा टुंग्याएको तर माओवादीको समर्थनबिना रूपन्देहीमा नजितिने कारण अहिले माओवादी–माओवादी देखिएको भन्ने गरेका छन् । उनले समानुपातिक मत कि माओवादी केन्द्र कि एकीकृत समाजवादीलाई दिन अपिल गर्दा करिब ५–७ सय मत त्यहाँ छ ।

रावल र भुषालको स्थिति कसरी फरक भयो भने, रावलसँग कम्तीमा अछामका जिल्ला, क्षेत्रीय र नगर कमिटीहरू थिए । तर, रूपन्देहीमा स्थानीय पार्टी कमिटीहरू घनश्यामको विपक्षमै थिए वा विपक्षी बनाइए । त्यसैले घनश्याम एकल सिफारिसमा परेनन्, हुलमुलमा नाम गयो । अछाममा चाहिँ कांग्रेसले समेत भीम रावल नै उम्मेदवार हुनुपर्छ भनेको थियो । घनश्यामको एमाले बहिर्गमनले स्वयं उनी त ठूलो टण्टाबाट मुक्त भए । खतरामा परेका छन्, ठाकुर गैरे । पाल्पा–१ बाट उठेका ठाकुरलाई चुनाव जिताए पनि भोलि घनश्यामकै लाइनमा लाग्ने त हैनन् ? यस्तो प्रश्न एमालेभित्र उठेपछि ‘ठाकुरको जिम्मा म लिन्छु’ भन्दै ताप्लेजुङबाट योगेश भट्टराईले शीतल निवासलाई फोन गरेको चर्चा च्यासलमा सुनिन्छ ।

घनश्यामले शुरुदेखि ‘जनताको बहुदलीय जनवाद गलत हो’ भन्दै रहे । ०५४ को विभाजनमा मालेतिर जाँदा जबजलाई नबोकौँ भन्ने मत उनको पनि थियो । तर, वामदेवको जिद्धिले त्यस्तो भएन । ०५८ को एकतामा सीपी यही कारण सामेल भएनन् । तर, घनश्यामले सीपीलाई साथ दिने हिम्मत पनि गरेनन् । उनकै समूहका टंक कार्की, कोमल भट्टराई, दामोदर उपाध्याय, मुकेश चालिसेहरू पनि यही लाइनका हुन् । बरु, ०५८ पछि हरि रोकाहरू कहिले स्वतन्त्र, कहिले माओवादी हुँदै चलिरहे, एमालेचाहिँ भएनन् । घनश्याम एमालेमै रहे ।

रावलका रमिता

एमालेकै कतिपय नेताहरू भन्दैछन्, रावलले गलत बोलेनन् । उनले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तिलाई मात्रै एउटा पर्चाका रूपमा बाँड्ने हो भने एमाले के हो भनेर मान्छेले छर्लङ्ग बुझ्नेखालको छ । उनै एकनाथ ढकाल अहिले एमालेको समानुपातिकतर्फ एक नम्बरमा छन्, जो ‘होली वाइन’ को नाममा सर्वाधिक बद्नाम पात्र हुन् । नेपाल र विश्वका क्रिश्चियन समुदायले समेत दुत्कारेको, तर क्रिश्चियन धर्मको प्रचारकै नाममा ओली सरकारको पालामा राज्यकोषबाट चार करोड खर्च गर्दै काठमाडौंमा एसिया प्यासिफिक सम्मेलनको आयोजना गरियो । उक्त कार्यक्रम एकनाथ ढकालको युनिभर्सल पिस फेडरेशनले आयोजना गरेको थियो । त्यहाँ ओली जानुमात्रै भएन, तीन रात सोल्टी होटलमा बास नै बस्नुभयो । ०७६ सालको मंसिर १४ देखि १६ गतेसम्म आयोजित उक्त कार्यक्रमको अन्तिम दिन विवादास्पद कोरियाली नागरिक प्युङ मनले ‘प्रभुको प्रसाद’ भन्दै होली वाइन वितरण गरेकी थिइन् ।

यससँगै रावलले ओलीको ‘बुँख्याचा राष्ट्रवाद’ को कुरा पनि जमेर उठाए । ओलीकै सक्रियतामा भएको महाकाली सन्धि र त्यो सन्धिको पृष्ठभूमि केलाउँदै पार्टीको दबाबमा चुच्चे नक्सा बनाएको तर त्यसलाई आफैँले पछि ढाकछोप गरेकोजस्ता कुरा निकाले । यसो त, स्वयं भीम रावल अस्थिरताको पर्याय हुन् । छैठौं राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको उपाध्यक्ष भए । विश्व कम्युनिष्ट आन्दोलन र विश्व परिदृश्यमा आधारित भएर नेपालमा उति धेरै चर्चा नहुँदा भीमले तयार पारेको एउटा थेसिस त्यस्तो थियो । ‘जाने बुझेको’ मान्छेका रूपमा उनलाई लिन थालियो । त्यही ‘राप–ताप’ का साथ संयुक्त राष्ट्रसंघमा जागिर पाए । ०४६ को परिवर्तनपछि गठित अन्तरिम सरकारमा झलनाथ खनाल कृषि मन्त्री हुनुभयो । भीमले आफूलाई आगामी चुनावमा टिकट दिने भए स्वकीय सचिवका रूपमा काम गर्ने भने । र, झलनाथले त्यही कुरा पत्याएर स्वकीय सचिव बनाउँदै ०४८ को निर्वाचनमा अछामबाट टिकट दिनुभयो । ०५१ मा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा भीम पर्यटन राज्यमन्त्री भएदेखि उनको खुट्टा भुइँमा परेन, ‘माथिको माथि’ नै ।

अवसरका निम्ति कतिसम्म गर्ने भने, आठौं महाधिवेशनमा उपाध्यक्षसँगै पार्टीको केन्द्रीय सदस्यसम्म हारे । त्यही झोँकमा केन्द्रीय सदस्यको शपथ लिएनन् । ‘अखण्ड सुदूरपश्चिम’ का नाममा अलग्गै पार्टी खोल्ने घुर्की लगाउन थाले । फेरि माधव नेपाल प्रधानमन्त्री भएपछि गृहमन्त्री बन्ने कुरा भयो । तर, पार्टीमा नलिएको केन्द्रीय सदस्यको शपथको कुरा उठ्यो । हत्तपत्त केन्द्रीय सदस्यको शपथ लिँदै मन्त्री हुन गए ।

अहिले माधव नेपाललाई किनारा लगाउन सकियो भने ओलीपछि आफू अगाडि आउँछु भन्ने सोचेर अन्तिममा साथ छोडे । तर, सोचेजस्तो भएन । एक एमाले नेता भन्छन्, भीम रावलको यात्रा ढिलोचाँडो माधव नेपालसँगै हुने हो । किनभने, माधव उनीसँग प्रभावित पनि हुनुहुन्छ । प्रत्येक कुराको मसिनो–मसिनो अभिलेख राख्ने र चाहिएको बेला फुत्त निकाल्नसक्ने रावलको क्षमताको फ्यान हुनुहुन्छ । त्यसमाथि यतिसम्म ‘कटु वचन’ लगाइसकेपछि चुनाव उपरान्त रावल ओलीसँग नटिक्के पक्कापक्की नै छ ।

टिप्पणीहरू