कता कता मिल्दै नमिल्ने कुरा
बर्दीधारीलाई अगाडि सारेर चुनाव लड्ने रन्कोमा भएका हाकिम थन्क्याएर राख्ने र तल्लो दर्जालाई चम्काएर खटाउने काम भएको छ, सशस्त्रमा । गत वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सशस्त्र प्रहरी बल नेपाल, नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया, कैलालीमा खटाइएका थिए डिआइजी दुर्गा भट्टराई ।
अहिले चुनावको मुखमा ती झापालीले सुदूरपश्चिममा डुबाउलान् भनेर राष्ट्रिय सुरक्षा परिषद्मा ल्याई थन्क्याइएको छ । अनि, हेडक्वार्टरमा अरु डिआइजी जगेडा हुँदाहुँदै एसएसपीलाई निमित्त बनाएर पठाइएको छ । त्यसरी ‘निमित्त’ का रुपमा खटिने एसएसपी विश्वकुमार भट्टराई पनि पूर्वतिरकै हुन् । विभागमा डिआइजी कालिदास धौबजी र कूलबहादुर नेम्वाङ त्यसै थन्किएर बसेका छन् । धौबजी नेपाल प्रहरीको ओभरसियरमा भर्ना भएका थिए ।
हटाइएका डिआइजी दुर्गामाथि प्रधानमन्त्री देउवाका निकटस्थहरुको संरक्षणमा दार्चुलाको बहुचर्चित राशन घोटाला काण्डमा संलग्न हाकिमलाई संरक्षण नगरेको आरोप लाग्दै आएको थियो । त्यहाँस्थित ४४ नं. गणका कामु वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई गणपति त्रिभुवन बिष्टले राशनमा गरेको अनियमिताबारे सञ्चारकर्मीलाई सूचना चुहाएको नाममा जेल हाल्नेसम्मको काम भएको थियो । पछि साहु निर्दोष सावित भए भने गत साउन ३० गते काठमाडौं झिकाइएकालाई एसपी बिष्टलाई चुनावका लागि फेरि दार्चुला नै पठाउनुपर्ने देउवाका पिए भानुको जोडबल थियो ।
यसबीच हवल्दारले सफाई पाउँदा उनलाई अनेक बहानामा जेल पठाउने कानुन महाशाखा प्रमुख युवराज अर्यालचाहिँ कसरी चोखिएर बस्न सक्छन् भन्ने प्रश्न उठ्ने नै भयो । उता, एआइजी नारायणदत्त पौडेल तालिम सकिएपछि पनि लामो समयदेखि अमेरिकामै छन् । प्रहरीकी एआइजी पूजा सिंहहरुसँगै उनी गएका थिए । पूजाहरु फर्किएको धेरै भइसक्यो । सशस्त्रका नयाँ एआइजी वंशी दाहाल भने डेंगु लागेर कालिकास्थानस्थित घरमै ढलेका छन् ।
टिप्पणीहरू