मातृभूमिको अपमान गर्नेलाई के दिनुपर्ने हो पुरस्कार ?

मातृभूमिको अपमान गर्नेलाई के दिनुपर्ने हो पुरस्कार ?

२४ फागुन २०७५ मा ओली सरकारसँग ११ बुँदे सहमति गर्नुअघि सिके राउत तराई–मधेसलाई नेपालबाट अलग्याउने पृथकतावादी अभियानको नेतृत्वकर्ता थिए । हिंसात्मक विद्रोहमार्फत मधेसलाई ‘आजाद’ गराउने अभियानमा लागेका उनले त्यसअघि नेपालको अस्तित्व स्वीकार गरेका थिएनन् । उनका सार्वजनिक अभिव्यक्तिमा मात्र होइन राजनीतिक दस्तावेजहरुमा पनि नेपालबाट टुक्य्राएर मधेसलाई अलगै राज्य बनाउने कुरा गौरवका साथ लेखिएको थियो ।

तर, अघिल्लो दिनसम्म नेपालको सार्वभौमिकता र अखण्डतामाथि धावा बोल्ने उनै राउत भोलिपल्ट एकाएक सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण मूलधारको राजनीतिमा अवतरण गरे । जनमत पार्टीको अध्यक्ष हुन् अहिले । र, साढे तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा बादललाई दायाँबाँया राखेर राष्ट्रिय सभागृहबाट सिंहदरबारसँग दोस्ती कसेका उनी आगामी निर्वाचनमा सप्तरी–२ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छन् ।

मधेसमा कृषककेन्द्रित मौसमी आन्दोलन गरेर केही चर्चा बटुले पनि स्थानीय निर्वाचनमा राउतको पार्टीले गणनायोग्य सीट जित्न सकेन । त्यो चुनाव राउतको पार्टीका लागि पहिलो थियो । यसपटक उनी आफैँ पहिलो चुनाव ‘फेस’ गर्दैछन् । मधेसमा राम्रै चर्चाका बाबजुद स्थानीय चुनावमा सोचेजस्तो जित निकाल्न नसकेका राउतलाई मंसिरको चुनाव थप सकसपूर्ण बन्ने देखिँदै छ । मुख्यतः दुई वटा कारणले चुनावी परिणाम उनका लागि प्रतिकूल रहेको मधेश राजनीतिका विश्लेषकहरु बताउँछन् । पहिलो, दुई वटा ठूला गठबन्धनका उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रनुपर्ने छ । त्यसमा पनि प्रतिष्पर्धी हेभिवेट उम्मेदवार छन् ।

मधेस आन्दोलनकै बलमा स्थापित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव एमालेको समेत समर्थन लिएर सप्तरी–२ बाट उठेका छन् । अघिल्लो चुनाव यहि क्षेत्रबाट जितेका यादव हेभिवेट उम्मेदवार हुन् । यहाँ सत्ता गठबन्धनले लोसपाका जयप्रकाश ठाकुरलाई मैदानमा उतारेको छ । स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा पाँच दलीय गठबन्धनका उम्मेदवार सबैभन्दा बलिया छन् । सप्तरी–२ मा सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ मत छ भने एमाले र जसपाको भोट २० हजार ३ सय ५४ हो । राउतको पार्टीको त झन कन्तविजोग अवस्था छ । यहाँ जनमतले ४ हजार ५ सय ४२ मत मात्रै पाएको छ । त्यसैले हेभिवेट यादव र गठबन्धनको साथ पाएर बलियो रहेका ठाकुरलाई पन्छाई चुनाव जित्नु राउतका लागि ‘फलामको च्यूरा चपाउनु’ सरह कठिन देखिन्छ ।

राउतको चुनावी बाटोमा मतको गणित मात्र होइन, राजनीतिक नैतिकताको प्रश्न झन् ठूलो चुनौती बनेर उभिएको छ । किनभने विगतमा देशको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतामाथि उनले गरेका अराजक टिप्पणीलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको ११ बुँदे सहमतिले पखाल्न खोजेपनि जनताको तहमा त्यसबारे काफी बहस भैरहेको छ । मधेशको बौध्दिक समुदायले राउतलाई प्रश्न गरिरहेको छ ।

त्यसैले सप्तरीमा चुनावको सरगर्मी मात्रै बढेको छैन राउतद्वारा लिखित “बैरागदेखि बचावसम्म’ पुस्तकको चर्चा पनि त्यत्तिकै छ । पुस्तकको पेज नम्बर १५२ मा लेखिएको ‘नेपाल त निर्लज रण्डी हो, जो राती हरेक बिदेशीसँग सम्भोग गर्छे’ भन्ने विषयलाई त्यहाँको बौध्दिक तप्काले उठाएको छ ।

हुन पनि लोकतन्त्रमा चुनाव नै यस्तो अस्त्र हो जहाँ जनताले नेतासँग आफ्ना प्रश्नको जवाफ खोज्छ । ‘राज्यसत्ताविरुध्द बिद्रोह गर्नु जनताको अधिकार हो, तर देशै टुक्राउँछु भन्ने र र मातृभूमिलाई बेश्याको संज्ञा दिने कुरा क्षम्य हुनै सक्दैन । सप्तरी–२ का मतदाताले यसबारे राउतलाई प्रश्न गर्नुपर्छ र राउतले पनि जवाफ दिन सक्नुपर्छ,’ त्यहाँका बुद्धिजीवीहरु यसो भन्छन् ।

राजनीतिक मुध्दामा आधारित विद्रोह स्वभाविक हुन्छ । र, त्यस्ता शक्तिसँग राज्यले राजनीतिक ‘डिल’ गर्नुपर्छ नै । तर, देशकै अस्तित्व स्वीकार नगर्ने शक्तिलाई राजनीतिको मूलबाटोमा ठाउँ दिँदा राज्यले हजार पटक सोच्नु जरुरी हुन्छ । जुन हतारोका साथ तत्कालीन सरकारले राउतसँग सहमति ग¥यो त्यसबाट मुलुकले के पायो ? प्रश्न त्यतिबेलै उठेको हो, अहिले पनि उठेकै छ । अझ सम्झौतामा हस्ताक्षर गर्न सभागृहमा आयोजित कार्यक्रममा दुई देशबीचको सझौता जस्तो गरी तामझाम गरिएको भन्दै त्यतिबेलाको सत्तारुढ दलका नेताहरुले समेत बिरोध गरेका थिए ।

भनिन्छ, अतिवादको अन्त्य अति महत्वाकांक्षामा जोडिएको हुन्छ । मधेसप्रति राज्यको दृष्टिकोण नकारात्मक बनाउन यस्ता अतिवादी प्रवृति नै मूल कारक हुन् । नागरिकताका सम्बन्धमा मधेस र पहाडमा छुट्टाछुट्टै मत निर्माण हुनुमा सिके राउतजस्ता पात्र र प्रवृत्तिको मुख्य भूमिका छ । भविष्यमा यस्ता प्रवृत्तिबाट देशलाई जोगाउन नेपालले विश्व राजनीतिका विभिन्न घटनाबाट पाठ सिक्नुपर्छ । जस्तो, हिन्दू मूलका ऋषि सुनक क्रिश्चियन बहुल बेलायतको प्रधानमन्त्री भए । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा अफ्रिकन मूलकै थिए । सोनिया गान्धीलाई पनि भारतमा विदेशी नागरिक भनिन्छ । तर, उनीहरु जुन देशमा बसे, जहाँ राजनीति गरे त्यही मुलुकप्रति इमान्दार बने । आफूले टेकेको धर्तिलाई अपमान गरेनन् ।

‘सिके राउत जसले आफू जन्मेको धर्तीलाई रण्डी, बेश्या भनिरहे त्यस्ता पात्रलाई राजनीतिमा ठाउँ किन दिइयो ? यसका पछाडिको स्वार्थ के हो बाहिर आउनुपर्छ’, ‘मधेश राजनीतिका एक विश्लेषक भन्छन्, ‘सरकारले जेलमा सडाउँछ भनेर रातारात सम्झौता गरी चोलेन्द्रले भोलिपल्टै छुटाएको कुराले सेटिङमा काम गरेको आशंका गर्नेलाई बल पु¥याएको छ । त्यत्रो महत्व दिएर दुई देशबीचको सम्झौता जसरी गरिएको सहमतिले देशलाई के उपलब्धि भयो ? यस्ता प्रवृत्तिले अब पनि निरन्तरता पाउने कि नपाउने ?’

टिप्पणीहरू