चिनियाँ सत्तारुढ पार्टीको महाधिवेशनपछि नेपाल चौबाटोमा

चिनियाँ सत्तारुढ पार्टीको महाधिवेशनपछि नेपाल चौबाटोमा

चिनियाँ कम्युनिष्ट पार्टीले दुई साताअघि २० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनले वर्तमान राष्ट्रपति तथा महासचिव सि जिनपिङलाई महासचिवमा तेस्रो कार्यकालको निम्ति सर्वसम्मत अनुमोदन गरेको छ ।

छिमेकी मुलुक चीनमा तेस्रो पटक कम्युनिष्ट पार्टीको महासचिव बनेपछि अब उनले यसअघि प्रतिपादन गरेको सि विचारधारालाई निकै महत्वकासाथ अघि बढाउने अवस्था सिर्जना भएको छ । पार्टी अध्यक्ष माओत्सेतुङपछि महासचिव सि विचारधारालाई संवैधानिक हिसाबले अघि बढाउनेमा उनी पहिलो नेता बनेका छन् ।

यता छिमेकी मित्रराष्ट्र नेपालमा कम्युनिष्टहरुको शक्तिशाली सरकार आफ्नै कारणले गिरेको छ । एकजुट हुन थालेका वामपन्थी पार्टीहरु छिन्नभिन्न भएका छन् । अचम्मको गठबन्धनका साथ राजनीतिक दलहरु निर्वाचनमा होमिएका छन् । केही समयदेखि पश्चिमा प्रभाव ह्वात्तै बढेको छ ।

‘यो हिसाबले हेर्दा हामी निकै रणनीतिक विन्दुमा आइपुगेका छौं,’ नेकपा माओवादी केन्द्रका एक जना नेता तथा राजनीतिक विश्लेषकले बताए । उनका अनुसार काठमाडौंमा रहेका पश्चिमा राजदूतावासहरुको कार्य अर्कै देखिन थालेको छ ।

केही समयअघि अमेरिकाले महाराजगञ्जस्थित आफ्नो दूतावास बाहिर भीमकाय ब्यानर झुण्डाएर आफूहरु युक्रेनको पक्षमा रहेको सन्देश मनोवैज्ञानिक हिसाबले दिएको उनको बुझाइ छ । ‘एउटा सार्वभौम र असंलग्न आन्दोलनमा आवद्ध मुलुकमा अर्को राज्यको दूतावासले त्यस्तो गर्न हुने वा नहुने ?’ उनले प्रश्न गरे ।

काठमाडौंस्थित सबै दूतावासले आफूलाई मन लागेको कुरा गर्दै जाने हो भने अवस्था कस्तो होला ? उनले थप प्रश्न गरे । अमेरिकी दूतावास बाहिर झैँ अन्य मुलुकका राजदूतावासले पनि रुसको पक्षमा आफू रहेको ब्यानर झुण्डाउन मिल्ने वा नमिल्ने ? भन्ने ज्वलन्त प्रश्न तेर्सिएको बताइन्छ ।

उनी भन्छन्,‘यसले सामाजिक सद्भाव बिथोल्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्याउँछ । हामी साँढेको जुधाई,बाँच्छाको पेलाईमा पर्छौं । यसतर्फ सरकार चनाखो हुनुपर्छ । तर,त्यस्तो अवस्था देखिएको छैन ।’

टिप्पणीहरू