बनिनसक्दै बन्द भयो धरहरा उक्लने विद्युतीय बाटो
नेपालको ऐतिहासिक धरोहर धरहराको लिफ्ट फेरि बन्द भएको छ । दुई सातादेखि धरहराको लिफ्ट ठप्प छ । पैसा नपाएपछि ठेकेदार आफैंले लिफ्ट बन्द गरेका हुन् । ठेकेदारले पटक पटक भुक्तानी दिन ताकेता गर्दै आए पनि पैसा नपाएपछि बाध्य भएर अपरेशन चिप्स निकालिदिएका छन् । यसअघि पनि एकचोटि धरहराको लिफ्ट बिग्रिसकेको छ । लिफ्ट नचल्दा झण्डै तीन घण्टा धरहरा हेर्न गएका आम सर्वसाधारण त्यहीँ अड्किएका थिए ।
वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा निर्मित धरहरा २०७२ वैशाख १२ गतेको महाभूकम्पमा ढलेको थियोे । २०७२ फागुन २ गते धरहरा परिसरमा बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा म आफैं बनाउने’ उद्घोष गरेका थिए ।
तर,ओलीको घोषणाले निरन्तरता पाउन सकेन । दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीले धरहरा निर्माणका लागि आफू कोदालो बोकेर आउने बताएका थिए । धेरै विवाद र असम्झदारीबीच धरहरा निर्माणको काम अघि बढेको थियो । निर्माणको जिम्मा रमन जेभी र जीआईईटीसी कम्पनीले पाए ।
‘माग बढेको बढ्यै छ,काम थपिरहेको छ त्यसैले धरहरा निर्माणको काम यतिखेर नै सम्पन्न होला भनेर भन्न सकिने अवस्था छैन ।’
नेपाल पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रतिरोधात्मक २२ तलाको धरहरा ठड्यायो । बाहिर ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको छ ।पुनः निर्माणको काम बाँकी रहँदै २०७८ वैशाख ११ गते ओलीले धरहराको उद्घाटन गरे । रंगरोगन र बत्ती जडानलगायतका काम नसकिँदै हतारमा उद्घाटन समारोह आयोजना गरिएको थियो ।
नवनिर्मित धरहराको उद्घाटन गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले धरहरा कहिल्यै नढल्ने बताएका थिए । धरहरा कहिल्यै नढलेपनि बेलाबेलामा बाधाअड्चन आइरहेको छ । समयमै भुक्तानी नपाँउदा यतिखेर लिफ्ट बन्द भएको छ । प्राधिकरणका तत्कालीन सिईओ सुशील ज्ञवाली पैसा नपाउने कुरै नहुने बताउँछन् ।
धरहरालाई सरकारले एकदमै प्राथमिकता दिएर बनाएको हुनाले पैसाको कुनै समस्या नरहने उनको भनाइ छ । भन्छन्,‘कन्ट्रयाक्टरले जिम्मा लिई अन्य ठेकेदारलाई काम लगाएर पैसा नदिएको भए त्यो हुन सक्छ । होइन भने पैसाको विषयमा त्यस्तो कुनै समस्या छैन ।’ त्यस्तै,पुनर्निर्माण प्राधिकरणलाई बदली गर्न आएको इकाईका अध्यक्ष कोषनाथ अधिकारीले आफूलाई यसबारे केही जानकारी नभएको बताए ।
सप्लायरले एक वर्षको वारेन्टी दिएको र वारेन्टी सकिएर लिफ्ट बन्द भएको हुनसक्ने उनको भनाइ छ । हालसम्म पैसाको कुनै समस्या नरहेको उनको दाबी छ ।उनकाअनुसार अहिलेसम्म पनि सर्वसाधारणका लागि धरहरा खुला गरिएको छैन । पार्क,गार्डेनलगायतका काम नसकिएकाले धरहरा सञ्चालन गर्न अझै केही समय लाग्ने उनी बताउँछन् । भन्छन्,‘माग बढेको बढ्यै छ,काम थपिरहेको छ त्यसैले धरहरा निर्माणको काम यतिखेर नै सम्पन्न होला भनेर भन्न सकिने अवस्था छैन ।’
टिप्पणीहरू