पञ्चायतमा राजनीतिक हतियार, गणतन्त्रमा गुरू
-अमृत बास्कुने
अहिले विश्वभर मार्सल आर्टका खेलहरुप्रति धेरैको रुची देखिन्छ । आत्मरक्षाका लागि विश्वमा नाम चलेका भनिने मार्सलआर्ट खेलहरु जापान, कोरिया, चीनबाट प्रख्यात भएका हुन् । तीमध्ये मार्सलआर्टकै एक बिधा क्योकुसिन कराँते खेललाई पहिलो पटक नेपालमा सर्वसाधारणको पहुँचसम्म पु¥याउने काम गरेका थिए म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका जगतप्रसाद गौचनले ।
कराँतेको नवौं डान ब्लाक बेल्ड गौचन आफ्नो खेल जीवनमा नेपालका लागि सफल मध्येको मानिन्छन् । नेपालका लागि एसियालीस्तरको खेलकुदमा कुनै पनि प्रतियोगिता र विधामा पहिलो र एक मात्रै स्वर्ण पदक दिलाएका थिए जगत गौचनले । नेपालले प्राप्त गरेको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलकुदको पदक नै जगतले प्राप्त गरेको एसियाली प्रतियोगिताको स्वर्ण हो ।

गौचनले वि.सं. २०३९ सालमा पहिलो पटक सर्वसाधारणका लागि मार्सलआर्ट सिकाएका थिए । जगत भन्छन् ‘तत्कालीन धीरेन्द्र सरकार सँग कुरा गरेर राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गरेरै मैले दशरथ रंङ्गशालामा खेलाडीहरुलाई प्रशिक्षण गराउन थालेको हुँ ।’ त्यो बेलाका अधिराजकुमार धीरेन्द्र शाहसँगको सामिप्यताबाट उनलाई सर्वसाधारणका लागि खेलकुद व्यवस्था गर्न सहज भएको थियो ।
म्यग्दीमा जन्मेर मार्सलआर्टमा निकै राम्रो दख्खल राख्ने गौचनले हजारौं खेलाडीलाई प्रशिक्षण दिइसकेका छन् । आफैं पनि निकै अब्बल खेलाडी हुन् भन्ने तथ्य एसियाली खेलमा स्वर्ण पदक विजयी भएको अवस्थाले पनि देखाउँछ । सबै खालका प्रतियोगितामा सहभागिता जनाएका गौचनले नेपाललाई एसियालीस्तरको खेलकुदमा पहिलो पटक स्वर्णपदक दिलाउनु नै सँधैका लागि सफलता थियो भन्नुपर्छ । सन १९८२ को अल एसियन फुलकन्ट्याक कराँते च्याम्पियनसिपमा स्वर्णपदक नेपालले जितेको थियो र त्यही पदक नै अहिलेसम्मको उत्कृष्ट पदक कायम छ ।
२०३९ सालसम्म नेपाली सेना तथा नेपाल प्रहरीले मात्र मार्सलआर्टको तालिम लिने गरेको भएपनि तत्कालीन अधिराजकुमार धीरेन्द्रसँगको समन्वय र अनुमतिमा क्योकुसिन कराँते सर्वसाधारणका लागि पनि प्रशिक्षण गौचनले नै शुरु गरेका थिए । नेपालमा मार्सलआर्ट भित्रिएको भए पनि आम सर्वसाधारणका लागि भने जगत गौचनले नै भित्र्याएको ठान्छन् ।

गौचनले सन् १९७९ को दोश्रो विश्व च्याम्पियनसिपमा भएको सहभागिता अफिसियल खेलकुदको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । त्यस्तै १९८३ को विश्व च्याम्पियनशीपमा सहभागी हुँदै प्रि–क्वाटर फाइनलसम्म पुगेका थिए । उक्त प्रतियोगितामा एसियाली मुलुकबाट जगत गौचनले मात्रै प्रि–क्वार्टर फाइनलसम्मको यात्रा गरेका थिए । सन् १९८४ को एसियन च्याम्पीयनशीपपछि गौचनले औपचारिक खेलमा सहभागिता जनाएनन् ।
मार्सलआर्टका प्रशिक्षकहरुले आफ्नो कलालाई निखार्दै नयाँ स्टाइलका खेलहरु पनि निकाल्ने गर्दछन् । त्यस्तै नयाँ स्टाइलमा गौचनले पनि ‘बज्र’ मार्सल आर्ट शुरु गरेका छन् । गौचन भन्छन्, ‘मैले चार वर्ष अगाडि राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मार्सलआर्ट फेडेरेसनमा दर्ता गराएर यसको कपिराइट सुरक्षित गरेको छु ।’ उनी अहिले बर्ज मार्सलआर्ट विस्तारमा लागिपरेको बताउँछन् ।
बज्र मार्सल आर्ट नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा शुरु भइसकेको छ । अब गौचनको नजर विश्वभर आफ्नो खेल विस्तार गर्नेमा छ । उनी भन्छन्, ‘बज्र गेम नयाँ र सबैभन्दा वैज्ञानिक एवम् प्रभावशाली मार्सलआर्ट हो र यसको संस्थापक म नै हो ।’ अबको दिनमा बज्रलाई नै प्रभावकारी तवरले अगाडि बढाउने योजनालाइ मूर्तरुप दिनेतर्फ मेरो ध्यान जाने छ ।’
टिप्पणीहरू