प्रेस काउन्सिलको आग्रह ‘आफ्नो पत्रलाई अन्यथा नलिइयोस्’
प्रेस काउन्सिल नेपालले आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनसँग् सम्बन्धित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा-भेला जस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न काउन्सिलले सबै सञ्चारमाध्यमलाई सचेत गराएको छ । काउन्सिलका सहप्रवक्ता रामशरण बोहोराले विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमलाई त्यसबारे जानकरी गराएका हुन् ।
सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मतआह्वान विज्ञापनहरू प्रकाशन÷प्रसारण गर्दा निर्वाचन आचारसंहिताबमोजिम हुनुपर्नेमा विशेष ध्यानाकर्षण गराइएको छ । काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रेस काउन्सिल नेपाल स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धनको लागि कटिबद्ध रही आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न र भ्रमपूर्ण तवरले प्रचार–प्रसार नगर्न प्रेस काउन्सिल नेपाल सरोकारवाला पक्षहरूसँग अनुरोध गर्दछ ।’
कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मतआह्वान सम्बन्धी विज्ञापनहरू सम्बन्धमा काउन्सिलले तोकिएको आकार, समय र पटकलाई ध्यान दिन आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (घ) मा ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने’ र २५(ङ) मा दफा १५ बमोजिम राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने’ व्यवस्था छ ।

टिप्पणीहरू