गण्डकीका ऊर्जामन्त्री बर्खास्त, प्रचण्डविरुद्ध भोट मागेको आरोप

गण्डकीका ऊर्जामन्त्री बर्खास्त, प्रचण्डविरुद्ध भोट मागेको आरोप

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको छ । गोरखामा आसन्न निर्वाचनका लागि एमाले उम्मेदवारलाई सहयोग गरेको आरोपमा उहाँलाई आज मुख्यमन्त्री पोखरेलले सरकारबाट हटाउनुभएको बताइएको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बाट प्रदेश सरकारमा समावेश हुनुभएका मन्त्री आचार्यले पछिल्लो समय गोरखा–२ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एमाले उम्मेदवारलाई भोट मागेको आरोप लागेको छ ।

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष आज दिउँसो पेश गर्नुभएको थियो । तत्काल स्वीकृत भएको उक्त प्रस्तावपछि प्रदेश प्रमुख गुरुङले आजै गण्डकीको मन्त्रिपरिषद् हेरफेरसमेत गर्नुभएको छ । योसँगै अब गण्डकीमा ११ सदस्यीय मन्त्रिपरिषद् कायम भएको छ ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पोखरेलले नै सम्हाल्नुभएको छ ।

टिप्पणीहरू