घन्टी बजाउँदै र लौरो टेक्दै आउनेले देश चलाउन सक्दैनन् : केपी ओली

घन्टी बजाउँदै र लौरो टेक्दै आउनेले देश चलाउन सक्दैनन् : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने क्षमता राख्ने दाबी गर्नुभएको छ । आज गृह जिल्लामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले अन्य पार्टी र स्वतन्त्र उम्मदेवारसँग देश चलाउने, संगठन चलाउने, पार्टी चलाउने बुद्धि नै नभएको ठहर गर्नुभएको छ । ‘देश चलाउन, पार्टी चलाउन त बुद्धि चाहियो नि, अरु दलमा त्यस्तो देखिएको छैन । त्यसैले एमालेले मात्र देश चलाउने हैसियत राख्छ,’ उहाँले भन्नुभयो ।

जनतालाई अधिकारसम्पन्न बनाउनेगरी एमाले अघि बढेको बताउँदै भन्नुभयो, ‘हामीले १७ हजार मानिसलाई क्रान्तिको सपना देखाउँदै, उक्साएर, भड्काएर मारेको देख्यौं ।’ तर ती सहिदका परिवार आज के गर्दैछन् ? घाइतेहरू के गर्दैछन् ? उनीहरूको जीवन अवस्था कस्तो छ ? त्यो क्रान्ति गर्नेले नहेरेको उहाँको भनाइ छ ।

‘क्रान्तिको सपना देखाएर पार्टीको नेतृत्व लिए, दुई दुईपटक प्रधानमन्त्री बने, अहिले पनि गठबन्धनको सरकारमा छन्, तर एमालेले मात्र द्वन्द्वपीडित घाइते र प्रभावितहरूको जीवन निर्वाह गर्न भत्ताको व्यवस्था गरेको छ,’ माओवादी पार्टी र उसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै उहाँले भन्नुभयो ।

ओलीले एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको दाबी गर्नुभएको छ । माधवकुमार नेपाल एमाले सिध्याउने अभियानमा लागेको बताउँदै भन्नुभयो, ‘एकीकृत समाजवादीको हैसियत मंसिर ४ गतेको निर्वाचनले देखाउने छ ।’

रवि लामिछानेप्रति इंगित गर्दै पत्रकारिता गर्न छाडेर राजनीति गर्न आएको, घन्टी बजाएर हिँडेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले लौरो टेकेर आउने स्वतन्त्रबाट पनि देश नचल्ने ठहर गर्नुभएको छ ।

टिप्पणीहरू