प्रेस काउन्सिलको कारबाही उच्च अदालतबाट सदर

प्रेस काउन्सिलको कारबाही उच्च अदालतबाट सदर

उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका विषयमा प्रेस काउन्सिल नेपालले यसअघि गरेको कारवाहीलाई ठीक ठहर्याएको छ । काउन्सिलले पत्रकार आचारसंहिताबमोजिम नेपाल आज डटकम अनलाइनलाई गरेको सूचीकरणबाट हटाउने कारबाही अदालतले ठीक ठहर्याएको छ ।

उक्त कारवाहीविरुद्ध दायर रिट निवेदनको अन्तिम फैसला गर्दै उच्च अदालत पाटनले नेपाल आजको रिट नै खारेज गरिदिएको छ । आचारसंहिताविपरीत कार्य गरेको आरोपमा कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने काउन्सिलको निर्णयविरुद्ध नेपाल आज डटकमका सञ्चालक माधवप्रसाद गुरागाईंले रिट दायर गरेका थिए ।

पाठकमा भ्रम पैदा गरेको,काउन्सिलको निर्देशन अटेर गर्दै आचारसंहिता उल्लंघन गरेको आरोपमा काउन्सिलले उक्त अनलाइनलाई सूचीकरणबाटै हटाएको थियो । काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै नेपाल आजले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत असार ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

फैसलाअघि अदालतले निर्णयका सक्कल मिसिल माग गरी अध्ययनसमेत गरेको थियो । आज पेसी तोकिएको उक्त मुद्दामाथि सुनुवाई गर्दै न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासबाट रिट खारेजीको फैसला भएको हो । आजको फैसलासँगै काउन्सिललाई अनलाइन र न्यु मिडियाको नियमन तथा अनुगमन गर्न बाटो खुलेको छ ।

उक्त मुद्दामा काउन्सिलको तर्फबाट अधिवक्ताहरू अनन्तराज लुइँटेल,झविन्द्र भुसाल र प्रतिभा उप्रेतीले बहस गर्नुभएको थियो । फैसलाको पूर्णपाठ आउन केही समय लाग्ने बताइएको छ ।

टिप्पणीहरू