मतदाता धम्काउने उम्मेदवारलाई आयोगको पत्र
नेकपा एमालेबाट प्रतिनिधि सभाका महोत्तरी क्षेत्र नम्बर १ का उम्मेदवार रहेका लक्ष्मी महतोले आफूलाई भोट नदिए चुनावपछि देखाइदिने भन्दै मतदातालाई धम्की दिएका छन् ।
महतोले महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा अन्तर्वार्ता दिने क्रममा उक्त धम्कीको भाषाको प्रयोग गरेका हुन् । उनले भनेका थिए, ‘आफूलाई भोट नदिने मतदातालाई छानेर ठेगान लगाइनेछ, आवश्यकताअनुसार पिटिन्छ पनि ।’
एफएममा दिएको अन्तर्वार्ता उल्लेख गर्दै परेको उजुरीपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । मतदातालाई लक्षित गरी उनले रेडियोमा बोलेको भाषा यस्तो छ : ‘अहिले चुनावका कारण चुप लागेको छु । चुनावपछि देखाइदिन्छु । हारे पनि के हुन्छ, म सबैलाई तह लगाइदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस् ।
कुरा बुझ्नुभो नि, तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ । त्यस्तो मान्छेलाई नपिट्ने हो भने के खुट्टा ढोगौँ ? खुट्टा ढोगेर काम लाग्छ ?’, उनले मैथिलीमा भने । ‘मैले चुनावका कारण धेरै धैर्य राखेको छु, चुनावपछि देखाइदिन्छु,’ उनले अन्तर्वार्तामा भनेका छन् ।
टिप्पणीहरू