भूकम्पबाट भएको क्षतिको विवरण मागियो

भूकम्पबाट भएको क्षतिको विवरण मागियो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो रातिको भूकम्पबाट भएको क्षतिको विवरण मागेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग मन्त्रालयले क्षतिको विवरण पठाइदिन आग्रह गरेको हो ।

हिजो बिहान २ बजेर १२ मीनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाई गएको भूकम्पको क्षतिको प्रारम्भिक विवरणको डिजिटल कपी इमेलमार्फत पठाइदिन मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।

स्थानीय तहमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, गैरसरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्रसमेतका एकीकृत परिचालन गरी एकद्वार प्रणालीबाट खोज, उद्धार र राहतमा जुट्न मन्त्रालयले अनुरोध गरेको छ ।

कुनै समन्वय र सहजीकरण गर्न आवश्यक भएमा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । यता, मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले हालसम्म कुनै विवरण प्राप्त नभएको जानकारी दिए । ‘अहिलेसम्म क्षतिको कुनै विवरण मन्त्रालयमा आइपुगेको छैन,’ उनले भने, ‘खोजी र उद्धार कार्य जारी छ ।’

भूकम्पमा परेर हालसम्म छ जनाको मृत्यु भएको छ । तर भौतिक पूर्वाधार क्षतिको विवरण सार्वजनिक भएको छैन ।

टिप्पणीहरू