पञ्चायतकालका हस्ती बालारामको चुनावी अनुभव : वर्मन र पछिकाले धाँधली गरे, पहिलेकाले त्यत्तिकै जिते
बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालको निर्वाचनमा रोल्पा–१ बाट थबाङका कम्युनिष्ट नेता वर्मन बुढा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । त्यो चुनावमा राजावादी नेता बालाराम घर्तीमगर पराजित भएका हुन् ।
वर्मन उसबेला चुनाव जिते पनि सन्तुष्ट नभएको बालारामको आरोप छ । उनले आज पनि भन्ने गरेका छन्, ‘वर्मनजीले भोटले जित्या होइन, इमानदारपूर्वक सत्य कुरा भन्छु । बुथ क्याप्चर गरेर चुनाव जित्या हो ।’
पूर्व सांसद वर्मन यतिखेर यो संसारमा छैनन् । उनले बालारामले जे आरोप लगाएपनि सुन्दैनन् । तर रोल्पाली समाजले भने पक्कै मनन गर्ने बालारामको भनाइ छ । एकतिर निर्वाचन अर्कोतिर जीत–हार । उनका लागि यो खासै ठूलो चर्चा पनि होइन । चुनावलाई सामान्य रूपमा लिने र नयाँ उम्मेदवार तथा मतदातालाई नयाँ टिप्स दिने गरेका छन् बालारामले
०००
२०१८ सालको गाउँ पञ्चायतको निर्वाचनमा घर्ती वडा सदस्यमा निर्वाचित भएका हुन् । लगत्तै, निर्विरोध प्रधानपञ्च पनि चुनिए । कम उमेरमा जनप्रतिनिधि बनेका बालाराम भन्छन्, ‘उमेर, अनुभव र शिक्षाले मानिसलाई परिपक्व बनाउँदै लैजाँदो रहेछ । त्योबेला तत्काल सबै परिवर्तन गर्न नसकिँदो रहेछ । तर पनि राम्रो काम गर्ने मौका पाएँ ।’
धेरै अघिका निर्वाचनमा पनि सामान्य खर्च हुने गरेको उनको अनुभव छ । मतदान एजेन्टलाई एकाध रुपैयाँ दिँदा पनि पुग्थ्यो । २०१९ सालको मंसिरमा निर्वाचन चर्चा चल्यो । गुरू खडानन्दसँग सल्लाह गरेर गाउँ पञ्चायतबाट जिल्ला सभासद् छानिएपछि जिल्ला सभाका लागि तीब्र तयारीमा लागेको बालाराम आज पनि सम्झने गरेका छन् ।
०००
२०१९ माघमा जिल्ला पञ्चायतको चुनाव भयो । नारायणप्रसाद चन्द सभापति र बालाराम घर्तीमगर उपसभापति निर्वाचित भए । बालारामका प्रधिस्पर्धी थिए– सल्यान दमाचौरका मस्तबहादुर चन्द । तर जिल्लासभा र राष्ट्रिय पञ्चायतको चुनावमा पराजित बने ।
उनले जम्माजम्मी छ पटक निर्वाचन जितेका छन् । दाङको मानपुर, सल्यान, प्युठान र तीन पटक रोल्पामै जिते । प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य, मन्त्रीदेखि राजपरिषद् सदस्यको रोचक यात्राको अनुभव समेटे । सातवटा प्रधानमन्त्रीसँग काम गरेका उनले मन्त्री कति पटक बनियो भनेर कहिल्यै नगनेको बताए ।
घर्तिमगरले आफ्नो राजनीतिक जीवन पूरै सफल भएको बताउँछन् । व्यक्तिगत प्रश्न राख्दा भन्छन्, ‘पैसा कमाउने बाटो खोजेपछि पाइन्छ । मैले खोजिनँ । आजको दिनसम्म मेरो खातामा एक लाख रुपैयाँ पनि छैन । मसँग पैसा कहिल्यै भएन । तर काम कहिल्यै अड्किएन । चलिरह्यो ।’
तर, उम्मेदवारले भोट माग्ने शैली फेर्नुपर्ने उनको सुझाव छ । हिजोआजको निर्वाचनलाई बालारामले खर्चिलो मानेका छन् । निर्वाचनमा उम्मेदवारले खर्च गरेको पैसालाई साहूको ठान्नेग गरेका छन् । ‘साहूको पैसा तिर्नका लागि भए पनि नेताहरूले भ्रष्टाचार गर्छन् । पैसा नतिरे मारिहाल्छन् नि साहूले,’ उनले सजिलैसँग भने ।
बालारामले कहिल्यै पैसा खर्च नगरेको तर चुनाव भने जितिरहेको दाबी गरे । तर उनले मतदातालाई विवेकशील देख्दै आएका छन् । चेतनशील समाजमा राम्रा उम्मेदवार नै निर्वाचित हुने आशा यस पटक पनि गरेका छन् ।
टिप्पणीहरू